धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, जेठ २२
कपिलवस्तुको विजयनगर गाउँपालिका–३ वडा कार्यालयले १३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। वडाभित्र बसोबास गर्ने ७३ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई झुल तथा टर्चलाइट वितरण गर्दै सम्मान गरिएको हो।
वडा सचिव सर्वजित कुमार यादवका अनुसार ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको समाजप्रतिको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र प्रेरणाका स्रोत भएकाले उनीहरूको सम्मान तथा संरक्षण सबैको साझा दायित्व भएको बताइन्। उनले आगामी दिनमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख गरिन्।
वडा अध्यक्ष हृदय विकास चौधरीले ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै संस्कार, संस्कृति र पहिचानको सम्मान गर्नु भएको बताउँदै वडा कार्यालयले उनीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रममा वडा सदस्य मोहम्मद सई, समाजसेवी राजकुमार यादव, सुनिल चौधरी, देवेन्द्रमणि त्रिपाठी लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।







