कपिलवस्तु, जेठ २२ — मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सीमा क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको आफन्त नेपाल कपिलवस्तु शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म ४ हजार ११८ जनालाई परामर्श सेवा प्रदान गर्नुका साथै जोखिममा परेका १०५ जनाको उद्धार तथा अवरोध गरेको जनाएको छ।
कृष्णनगरस्थित शाखा कार्यालयमा बिहीबार आयोजित स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै मानव बेचबिखन नियन्त्रण तथा पीडित संरक्षणका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराएको हो।
कार्यक्रममा शाखा संयोजक माधुरी लिम्बुले नेपाल–भारत सीमास्थित कृष्णनगर नाकामार्फत यात्रा गर्ने ११ हजार ७०४ जनालाई सुरक्षित आप्रवासन, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी सूचना तथा सचेतनामूलक जानकारी प्रदान गरिएको बताइन्। उनका अनुसार सोही अवधिमा ४ हजार ११८ जनालाई परामर्श सेवा, १०५ जनाको उद्धार तथा अवरोध, ६७ जनालाई आकस्मिक आवास गृह सेवा, ६९ जनाको पारिवारिक पुनर्मिलन, १७ जनालाई सीपमूलक तालिम तथा १०९ जनाको फलोअप गरिएको छ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले खुला सीमाको दुरुपयोग गर्दै हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै जोखिममा रहेका व्यक्ति तथा समुदायलाई समयमै सचेत गराउनुपर्नेमा जोड दिए।
कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले मानव बेचबिखनविरुद्ध आफन्त नेपालले गरिरहेको कार्य सराहनीय रहेको बताउँदै स्थानीय तहले यस्ता सामाजिक अभियानमा निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उठेका जिज्ञासा तथा सुझावमाथि आफन्त नेपाल रुपन्देहीकी संयोजक उषा गुरुङले सहजीकरण गर्दै मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, पुनःस्थापना तथा पुनर्मिलनका लागि सबै सरोकारवाला पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्।
अन्तरक्रिया कार्यक्रममा कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरतीदेवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, वडा नं. २ की कार्यवाहक अध्यक्ष रेनु शर्मा, वडा सदस्य राहुल मोदनवाल, नारायण कनोडिया, लिंकगेट अस्थायी प्रहरी पोस्टका प्रहरी नायब निरीक्षक खिमबहादुर जिसी, शान्ति पुनःस्थापना गृह कपिलवस्तुका संयोजक दिनेश तिमिल्सिना, साना हातहरू संस्थाकी भिमा परियार, आशिष सामाजिक सेवा नेपालकी कपिलवस्तु संयोजक सविता बिक, पत्रकार, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, प्रभावकारी निगरानी, पीडितमैत्री सेवा प्रवाह तथा स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संस्थाबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।







