जलेश्वर, जेठ २१ ।

महोत्तरीमा पाँच वर्षअघि ठूलो परिमाणमा गाँजा बरामद भएको घटनाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–७ निवासी सागर भन्ने राम सागर दास लाई फरार रहेकै अवस्थामा पक्राउ गरिएको हो। उनी २०७८ सालमा दर्ता भएको लागुऔषध सम्बन्धी कसूर मुद्दामा प्रतिवादी रहेका थिए।

२०७८ कात्तिक २८ गते विशेष सूचनाको आधारमा जलेश्वर–७ स्थित दासको घरमा खानतलासी गरिएको थियो। त्यसक्रममा घरको भुस्सा राख्ने कोठाभित्र गहुँको भुस्साले छोपेर लुकाइराखिएको ४३.५ किलोग्राम गाँजा बरामद भएको थियो। घटनापछि दास फरार भएका थिए।

मुद्दा दर्तापछि लामो समयदेखि फरार रहेका उनलाई खोजतलास तथा निगरानीका क्रममा प्रहरीले जेठ २० गते पक्राउ गर्न सफल भएको सूचना अधिकारी डिएसपी पञ्चलाल गोले जनाए ।

पक्राउ परेका दासलाई थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। हाल उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।