महोत्तरी । लगातार बढ्दो अत्यधिक गर्मी र तातो हावा (लू) का कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि महोत्तरीका दुई स्थानीय तहले विद्यालयमा बिदा घोषणा गरेका छन्।

जिल्लाका १५ स्थानीय तहमध्ये गौशाला नगरपालिका र बर्दिबास नगरपालिका ले अत्यधिक गर्मीका कारण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूको पठनपाठन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्।

गौशाला नगरपालिकाले जेठ २१ गते सूचना जारी गर्दै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयमा जेठ २२ गते शुक्रबारदेखि जेठ २५ गते सोमबारसम्म पठनपाठन पूर्ण रूपमा बन्द रहने जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीद्वारा जारी सूचनामा विगत केही दिनदेखि लगातार बढिरहेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम देखिएकाले उक्त निर्णय गरिएको उल्लेख छ।

त्यसैगरी बर्दिबास नगरपालिकाले पनि अत्यधिक गर्मी र तातो हावा (लू) का कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जेठ २१ र २२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा जारी सूचनामा बालबालिकाहरूलाई गर्मीको समयमा अनावश्यक रूपमा घरबाहिर हिँडडुल गर्न नदिई आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई अनुरोध गरिएको छ।

यता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशमा तातो दिन (Heat Day) को अवस्था कायम रहने जनाएको छ। विभागले आगामी केही दिनसम्म मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने सम्भावना औंल्याउँदै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

हाल महोत्तरीसहित मधेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगिरहेको छ। चर्को घाम, तातो हावा र उच्च तापक्रमका कारण विशेषगरी विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बिरामीहरू बढी जोखिममा रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

मौसमविद्हरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त मात्रामा पानी पिउन, छाता वा टोपी प्रयोग गर्न तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन्।