महोत्तरी ।
महोत्तरीको जलेश्वरसहित मधेश प्रदेशका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढ्दै जाँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमानअनुसार मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो दिन (Heat Day) हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार जलेश्वर लगायतका क्षेत्रमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ। दिनभर चर्को घाम र तातो हावाको प्रभाव रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
गर्मीको प्रत्यक्ष असर विद्यालय जाने बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरमा पर्ने भएकाेले सावधानीकाे लागि आग्रह समेत गरिएकाे छ । गर्मीका कारण बालबालिकामा डिहाइड्रेसन, थकान, टाउको दुख्ने तथा स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरूकाे भनाइ छु । लु लाग्ने अत्यधिक सम्भावना रहेकाेले स्वास्थ्य सुरक्षा अपनाउन आवश्यक छ । चिकित्सकले प्रशस्त मात्रामा पानी पिउन, छाता, टोपी वा गम्छाको प्रयोग गर्न तथा दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले जेठ २१, २२ र २३ गतेसम्म मधेश प्रदेशमा तातो दिनको अवस्था कायम रहने जनाएको छ। यद्यपि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि त्यसले तापक्रममा ठूलो कमी ल्याउने सम्भावना नरहेको मौसमविद्हरूको भनाइ छ।
गर्मीको जोखिमलाई मध्यनजर गर्दै महोत्तरीको बर्दिबास नगरपालिकाले नगरभित्रका विद्यालयमा दुई दिन सार्वजनिक बिदा समेत दिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।







