रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ ज्येष्ठ ।
मनरा सिसवा नगरपालिकाले साक्षर अभियान संचालनमा ल्याएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्म पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ पालिकाले ज्येष्ठ १५ गते देखि असार १५ गतेसम्म पुरा हुने गरि अभियान संचालनमा ल्याएको हो ।
१५ वर्ष देखि ६० वर्ष उमेर समुहलाई लक्षित गरि संचालनमा ल्याइएको अभियानमा स्थानिय विद्यालयका शिक्षकहरुको सहयोग लिइएको छ । विद्यालय समय पछि विद्यालय रहेको टोलमा गएर शिक्षकहरुले उनीहरुलाई अभियान मार्फत साक्षर बनाईरहेको नगरप्रमुख मोहन पाण्डेयले जनाएका छन ।
पालिकाको सवै १० वडामा कुल २३ टोल रहेको बताउदै नगरप्रमुख पाण्डेयले पालिकामा २३ सामुदायिक विद्यालय समेत भएको र सवै टोलमा भएकोले प्रत्येक विद्यालयलाई आफ्नो टोललाई साक्षर बनाउन जिम्मा दिइएको बताए । उनले विद्यालय बाहेक अतिरिक्त कार्यमा खटेकोले अभियानमा खट्ने शिक्षकहरुलाई पालिकाको तर्फबाट केहि सहयोगको व्यवस्थापन समेत गरिएको बताए ।
‘शिक्षा सवैको अधिकार,साक्षरता हाम्रो आधार’ तथा ‘साक्षर नागरिक,समृद्ध नगरपालिका’ भन्ने मुल नाराका साथ चलाइएको साक्षर अभियान समय भित्र सम्पन्न हुने र असारकै अन्त्यसम्म पालिकालाई साक्षर घोषणा गरिसक्नेमा आफु आशावादी रहेको नगरप्रमुख पाण्डेयले थपे ।
उनले साक्षर हुन विभिन्न १२ पारामिटर पुरा गर्नु पर्नेमा कम्तिमा ६ पारामिटर पुरा गर्ने र ९५ प्रतिशत साक्षर भए पालिका साक्षर घोषणा गर्न सकिने बताए । नगरप्रमुख पाण्डेयले तथापी शिक्षकहरु पुरै १२ पारामिटर पुरा हुने तरिकाले सिकाईरहेको बताए ।
उनले सेभ द चिल्ड्रेन तथा रतौली युवा क्लव लाई समेत अभियानो अनुगमनको लागि आग्रह गरेकोमा नगरपालिकासंगै उक्त संस्थाहरुले समेत अनुगमन गरिहेको बताए ।
मनरा सिसवा नगरपालिकामा पछिल्लो २ आर्थिक वर्ष समेत स्थानिय शिक्षित युवा सहिता विभिन्न भोलेन्टियर राखेर साक्षर अभियान चलाइएकोमा साक्षर बनाउने टेक्निक अभावले उनीहरुले अपेक्षाकृत नतिजा नदिन सकेपछि यस पटक भने विद्यालयलाई जिम्मा दिइएको र विद्यालयबाट प्राथमिक तहका र बालविकास शिक्षकले जिम्मेवारी पुरा गरिरहेको उनले थपे ।
नगरपालिकाको नयाँ तथ्यांक अनुसार पालिकामा १५ देखि ६० वर्ष उमेर समुहका महिला २१ हजार ६२६ र पुरुष २० हजार ९४५ गरि कुल ४२ हजार ५७१ रहेकोमा सो मध्ये ४ हजार ३० महिला र २ हजार ४३९ पुरुष अझै निरक्षर छन । पालिकामा कुल ८ हजार २३५ घरधुरीमा कुल ५४ हजार नागरिक छन ।
महोत्तरीका १५ स्थानिय तह मध्ये जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका हालसम्म साक्षर पालिका घोषणा भैसकेका छन भने अन्य पालिकाहरु साक्षर घोषणाको चरणमा छन ।







