काठमाडौं, १९ जेठ — राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ। बराइली हाल रेडियो धनकुटाका स्टेशन म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको छ। त्यसैगरी खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान (अवलोकृत डटकम) तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनुभएको छ।
यस्तै, गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक तथा समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ।
महासचिवमा करन ताम्राकार निर्वाचित हुँदा सचिवमा चिन्ता परियार, राजेश कुमार पासवान, सुनिता नेपाली र बसन्त विश्वकर्मा निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित हुनुभएको छ।
महाधिवेशनले ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिका थप १० सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष बराइलीले दलित समुदायका पत्रकारहरूको अधिकार सुनिश्चित गर्दै जातीय भेदभाव तथा छुवाछूत अन्त्य, सामाजिक समावेशीकरणको प्रवर्द्धन तथा सञ्चारमाध्यममार्फत सामूहिक पैरवी गर्ने उद्देश्यले सङ्घको स्थापना २०७६ सालमा गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार सङ्घमा देशभरका करिब एक हजार पाँच सय दलित समुदायका पत्रकार आबद्ध तथा क्रियाशील रहेका छन्।







