रञ्जन कुमार भण्डारी
महोत्तरी,२० ज्येष्ठ ।
महोत्तरीको सोनमा गाउपालिका ३ खखनामा घरमै सुतेका श्रीमान श्रीमतिमाथी गोली प्रहार गर्दै हत्या प्रयास गरिएको छ । अनुहार छोपेर आएको ७÷८ जनाको अज्ञात समुहले मध्यरात घरमै प्रवेश गरेर उनीहरुमाथि गोली प्रहार र कुटपिट गरेका हुन ।
जिल्लाको पिपरा गाउपालिका २ अतरार घर भई ससुराली गाउ सोनमा गाउपालिका ३ खखना निवासी राम विश्वास यादवको घरमा श्रीमतिसंगै बस्दै आएका सम्सी गाउपालिकाको स्वास्थ्य शाखामा कार्यरत २८ वर्षिय रामईश्वर यादव र २२ वर्षिया उनकी श्रीमति किरण कुमारी यादवमाथि सो अज्ञात समुहले ज्यान लिने उदेश्यले गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी डिएसपी पञ्चलाल गोलेले घरमा सामानहरु समेत छरपस्ट अवस्थामा रहेकोमा डाँका उदेश्य देखिएपनि अनुसन्धानले थप कुरा खुल्ने बताए । घाईते दम्पतीको तिलहरी,हनुमानी लगायतका सामानहरु लुटिएको र घरो दराज लगायतका विभिन्न बाकसहरु समेत फुटाइएको छ ।
यता घाईते दम्पतिलाई राती नै रामगोपालपुर नगरपालिका ९ स्थित जानकी एकेडेमिक अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि जनकपुर स्थित जानकी हेल्थ केयरमा लगिएको हो ।
घाईते रामईश्वर यादवका ससुरा सपरिवार जनकपुर स्थित घरमा बस्दै आएका छन भने उनको छोरी ज्वाई गाउको घरमा बस्ने गरेका छन । उनको स्वास्थ्य अवस्था स्थिर बताइएको छ ।

यता पिडितले राती अज्ञात समुह घरमा प्रवेश गरि केहि नभनि खुट्टा बाँधेर कुटपिट गरेको र सो पछि गोली हानिदिएको बताए । उनले आफ्नी श्रीमतिले मलाई छुटाउनु खोज्दा उसलाई पनि कुटपिट गर्न थालेकोमा श्रीमति भाग्न खोज्दा उसको तिघ्रामा गोली लागेको बताए ।







