बर्दिबास, महोत्तरी ।

श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले श्रमको सम्मान नै सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनुभएको छ। उहाँले श्रमको सम्मान हुने समाज नै समृद्ध र सभ्य समाज हुने उल्लेख गर्नुभयो।

८औँ राष्ट्रिय महिला अधिकार दिवस २०८३ का अवसरमा बर्दिबास नगरपालिकाद्वारा आयोजित ‘श्रमिक महिला सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री थापाले महिला श्रमको सम्मान हुनु आफैंमा ठूलो सामाजिक रूपान्तरणको उदाहरण भएको बताउनुभयो।

उहाँले श्रम गरेर जीविकोपार्जन गर्ने २० जना उदाहरणीय श्रमिक महिलालाई सम्मान गरेकोमा बर्दिबास नगरपालिकालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमको अनुसरण अन्य स्थानीय तहहरूले समेत गर्नुपर्ने बताउनुभयो।

“काम ठूलो वा सानो हुँदैन, कामको सम्मान गर्नुपर्छ,” मन्त्री थापाले भन्नुभयो, “कामको सम्मानसँगै श्रमिक व्यक्तिको सम्मान गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ।”

उहाँले महिलाहरू घरपरिवारका मात्र नभई राष्ट्रका पनि नीति निर्माणकर्ता भएको उल्लेख गर्दै महिलाको आर्थिक तथा सामाजिक आत्मनिर्भरता आवश्यक रहेको बताउनुभयो। महिलाहरू आत्मनिर्भर भए मानसिक तथा सामाजिक रूपमा सशक्त बन्न सक्ने उहाँको भनाइ थियो।

मन्त्री थापाले समान कामका लागि समान ज्याला सुनिश्चित हुनुपर्नेमा जोड दिँदै महिलाहरूले अझै पनि धेरै क्षेत्रमा समान कामको उचित पारिश्रमिक नपाइरहेको बताउनुभयो। यस्तो विभेद अन्त्यका लागि आफू प्रतिबद्ध भएर लाग्ने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न महिलामध्ये शारीरिक रूपमा अशक्त, एकल महिला, जनजाति तथा अन्य पिछडिएका वर्गका महिलालाई प्राथमिकताका साथ छनोट गरिएको थियो। यसका लागि छनोट समितिलाई समेत मन्त्री थापाले विशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, नगर प्रवक्ता विजयकुमार महतो, महिला अधिकारकर्मी, विभिन्न राजनीतिक दलका महिला नेतृहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले गर्नुभएको थियो।