महोत्तरी,१४ ज्येष्ठ ।
हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र कोपिया प्रोजेक्ट को समन्वयमा बुधवार धान उत्पादन प्रविधि सम्बन्धी एक दिने कृषि प्रसार अधिकृत स्तरीय तालिम सम्पन्न भएको छ ।
तालिममा धनुषा, महोत्तरी र सिरहा जिल्लाका विभिन्न पालिकाबाट १७ जना कृषि अधिकृतहरूको सहभागिता रहेको थियो । किसानसँग प्रत्यक्ष रूपमा काम गर्ने कृषि प्राविधिक तथा अधिकृतहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा धान उत्पादन वृद्धि, नयाँ प्रविधि, रोग–किरा व्यवस्थापन तथा उन्नत जातका विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा धान संयोजक डा. मथुरा यादव ले नेपालमा धान खेतीको वर्तमान अवस्था, उत्पादनको स्थिति, किसानले भोगिरहेका चुनौती तथा कार्यालयको भावी रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभयो । उहाँले जलवायु परिवर्तन, उत्पादन लागत वृद्धि र आधुनिक प्रविधिको सीमित प्रयोगले धान उत्पादनमा असर परिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी वरिष्ठ प्राविधिक अधिकृत रवेन्द्र प्रसाद साहले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट अनुमोदित विभिन्न धानका जात, तिनका विशेषता तथा उत्पादन क्षमताबारे जानकारी दिनुभयो।
प्राविधिक अधिकृत मो. फरहत अली ले धानबालीमा लाग्ने प्रमुख किराहरू र तिनको प्रभावकारी व्यवस्थापनका उपायबारे प्रशिक्षण दिनुभएको थियो भने प्राविधिक अधिकृत सुन्दर श्रेष्ठ ले धानबालीमा देखिने विभिन्न रोग तथा तिनको नियन्त्रण विधिबारे जानकारी दिनुभयो।
तालिममा सहभागी कृषि अधिकृतहरूले किसानसँग काम गर्ने क्रममा देखिएका व्यवहारिक समस्याबारे समेत धारणा राखेका थिए। उनीहरूले गुणस्तरीय बीउको अभाव, नेपाली धानका स्थानीय तथा उन्नत जातबारे पर्याप्त जानकारीको कमी, सिँचाइ सुविधा अभाव तथा मलको सहज उपलब्धता नहुनुले किसानहरू प्रभावित भइरहेको बताएका थिए।
सहभागीहरूले ब्ल्याक राइस तथा लो ग्लाइसेमिक इन्डेक्स भएका धानका विषयमा विशेष चासो देखाएका थिए। सो सम्बन्धमा प्रोजेक्ट लिडर डा. पल्लवी सिंह ले जानकारी दिनुभएको थियो।
तालिममा सहभागीहरूको सक्रिय सहभागिता रहेको तथा यस्ता कार्यक्रमले किसानसम्म नयाँ प्रविधि र अनुसन्धानका उपलब्धि पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा कृषि प्राविधिक रमेश कुमार साहले सहजीकरण गरेका थिए ।