महोत्तरी, १३ ज्येष्ठ ।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका अन्तर्गत भ्रमरपुरा गाउँमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको “कम्युनिटी हेल्थ सेन्टर” ले ग्रामीण भेगका नागरिकलाई सस्तो तथा सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। Helping Heart को तत्वावधानमा सञ्चालित उक्त स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा सेवा विस्तारमा चिकित्सक डा. अहमद रेजा को सक्रिय भूमिका रहेको बताइएको छ।

काठमाडौंस्थित People’s General Hospital मा लामो समयदेखि सेवा दिँदै आउनुभएका डा. अहमदको पहलमा सञ्चालनमा आएको उक्त केन्द्रले न्यून शुल्कमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य केन्द्रमा ओपीडी सेवा शुल्क २० रुपैयाँ मात्र राखिएको छ भने ल्याब परीक्षण, एक्स–रे तथा यूएसजी (USG) सेवामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। साथै केन्द्रअन्तर्गत सञ्चालन भइरहेको फार्मेसीमा औषधिमा १० प्रतिशत छुट उपलब्ध गराइँदै आएको जनाइएको छ।
स्वास्थ्य केन्द्रका अनुसार हाल दैनिक २५ देखि ३० जना बिरामीले सेवा लिइरहेका छन्। दम, अल्सरलगायत दीर्घरोगका बिरामी बढी आउने गरेका छन् भने बालरोग तथा स्त्रीरोग सम्बन्धी उपचार सेवा पनि उपलब्ध गराइँदै आएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको अवस्थालाई ध्यानमा राख्दै सेवा विस्तारको योजना अघि बढाइएको डा. अहमदले बताउनुभएको छ।

उहाँका अनुसार आगामी महिनादेखि रौजाबजार, महदैया तथा सम्सी बजार क्षेत्रमा थप तीन वटा कम्युनिटी हेल्थ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई गाउँमै सहज र सस्तो उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको उहाँको भनाइ छ।
स्थानीयवासीले पनि यस्तो स्वास्थ्य सेवा ग्रामीण भेगका नागरिकका लागि प्रभावकारी र आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको छ।
यसैबीच, Helping Hand र Helping Heart को सहकार्यमा विभिन्न निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदै आइरहेको जनाइएको छ।







