रञ्जन कुमार भण्डारी
महोत्तरी,१२ ज्येष्ठ ।
महोत्तरीको बर्दिवास ३ कालापानीमा मंगलवार बिहान देखि जारी सडक अवरुद्ध सहमति पछि टुंगिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा टोली,बन कार्यालय,स्थानिय जनप्रतिनिधी र आन्दोलनरत पक्षबिच मंगलवार बिहान देखि जारी बार्ता सहमतिमा टुंगिएको हो ।
डिभिजन बन कार्यालयले सार्वजनिक अपिल मार्फत घटनाबारे प्रष्टता पारेपछि बसेको वार्तामा घटनामा भएको क्षति सरकारले व्यहोर्ने, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित बनाउन सरकारमा अनुरोध गर्ने,आउदो दिनहरुमा स्थानिय सरकारले गरेको संकलन प्रमाणिकरणमा रहेका घरजग्गा स्थानिय सरकारसंग समन्वय र सहकार्य गरि योजना बनाई अगाडी बढाउने लगायतका बुंदामा सहमति पछि सडक खोलिएको हो ।
सोमवार साझ बन अनुगमनमा गएको टोलीले अतिक्रमित जग्गा खाली गर्नु पर्ने बताएपछि स्थानियहरु प्रतिकारमा उत्रदै बन कर्मचारीहरुलाई नियन्त्रणमा लिनुका साथै उनीहरु सवार गाडीमा आगजनी गर्दै विरोध गरेका थिए । पछि प्रहरी टोलीले उनीहरुलाई रेस्क्यु गरेर केहि व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थानिय सरकारको आग्रहमा उनीहरुलाई छाडिएको थियो । यता मंगलवार बिहानै देखि स्थानियहरुले सडक विपी राजमार्ग अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए ।







