रञ्जन कुमार भण्डारी
महोत्तरी,१२ ज्येष्ठ ।
डिभिजन वन कार्यालय, महोत्तरीले बर्दिवास नगरपालिका–३ कालापानी क्षेत्रमा बस्ती खाली गराउने कुनै योजना नरहेको स्पष्ट पारेको छ । वन कार्यालयले सोमबार सार्वजनिक अपिल जारी गर्दै स्थानीयमा फैलिएको भ्रम र त्यसबाट उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।कार्यालय प्रमुख डिएफओ अजय कुमार मिश्रले जारी गरेको सार्वजनिक अपिलमा सोमवार साझ नियमित वन गस्तीका क्रममा वनकर्मीले मौखिक रूपमा गरेको आग्रहलाई लिएर गलत बुझाइ फैलिएको जनाएका छन । उनले उक्त विषयलाई लिएर केही स्थानीय नागरिक उत्तेजित तथा आन्दोलित बनेपछि स्थिति तनावपुर्ण बनेको जनाएका छन ।
“कसैको बासस्थान हटाउने योजना छैन, साथै त्यस्तो कुनै योजना बनाएर सुरक्षा निकायसँग लिखित वा मौखिक रूपमा अनुरोध समेत गरिएको छैन,” सार्वजनिक अपिलमा उल्लेख छ ।
डिभिजन वन कार्यालयले स्थानीय नागरिकसँग समन्वय, संवाद र छलफलमार्फत सहकार्य गर्न आफू सधैं तयार रहेको जनाएको छ । डिएफओ मिश्रले अफवाह र भ्रममा नपर्न आग्रह समेत गरेका छन । उनले शान्ति र संयमता अपनाउन समेत आग्रह गरे ।
सोमवार कालापानीमा स्थानियले बस्ती खाली गराउन आएको भन्दै बन अधिकृत सहित ७ जना बन कर्मचारीलाई राती १२ बजेसम्म नियन्त्रणमा राखेका थिए । सो पछि सुरक्षा निकायले उनलाइ रेस्क्यु गरेका थिए । यता उनीहरु सवार गाडी समेत स्थानियले जलाईदिएका थिए । यता मंगलवार बिहानै देखि स्थानियहरुले विपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गरिरहेका छन ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको टोली स्थानिय जनप्रतिनिधी र आन्दोलनरत पक्ष सहित हाल वार्ता गरिरहेका छन ।







