रञ्जन कुमार भण्डारी
महोत्तरी,१२ ज्येष्ठ ।
महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा बन अतिक्रमण गरि बसाइएको बस्ती तथा अन्य अतिक्रमित क्षेत्र खाली गर्न सुचना दिन गएको बन अधिकृत सहितको ७ जना बन कर्मचारीको टोलीलाई स्थानियहरुले सोमबार अबेर रातीसम्म नियन्त्रणमा राखेका थिए । आफुहरुलाई उठिबास लगाउन आएको भन्दै बन कर्मचारीलाई अबेर रातीसम्म नियन्त्रणमा राखेका हुन । यता नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले बन कर्मचारीहरुलाई रेस्क्यु गरेका थिए । उनीहरुलाई राती करिव १२ बजे रेस्क्यु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारुमगरले बताए । तथापी स्थानियहरुले बा२झ २७४९ नं. को बनको गाडी भने तोडफोड गर्दै आगजनी गरेको उनले थपे । गाडी पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बन कर्मचारीहरुलाई रेस्क्यु गर्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा केहि स्थानिय घाईते समेत भएको बताइएको छ । तथापी उनीहरुको उपचार बारे हालसम्म खुलेको छैन । प्रहरीले राती गोली समेत चलाएको स्थानियको दाबी छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले राती केहि स्थानियहरुलाई नियन्त्रणमा लिएपनि बर्दिवासका नगरप्रमुख प्रल्हाद क्षेत्रीको पहलमा उनीहरुलाई प्रहरीले राती नै छाडेको हो ।

यता स्थानियहरुले मंगलबार बिहानै देखि विपि राजमार्ग अबरुद्ध गर्दै आन्दोलन पुनः थालेका छन । स्थानियहरुले सरकारको पक्षबाट बस्ती खाली नगराउने स्पष्ट प्रतिबद्धता नआएसम्म आफुहरुले आन्दोलन जारी राख्ने जनाएका छन । बर्दिवास नगरपालिका ३ का पुर्व वडासदस्य गणेश बस्नेतले सरकारले व्यवस्थापन बिना सुकुम्वासीहरुलाई हटाउन खोजेकोले यस्तो अवस्था सृजित भएको बताए । उनले राती राती बस्तीमा प्रवेश गरेर घर घरमा गएर खाली गर्न सुचना दिन आएपछि स्थानियहरु त्रसित भएर प्रतिकार गरिएको बताए ।
यता स्थानियहरुसंग समन्वय गर्न तथा अवरुद्ध सडक खुलाउन महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु तथा अन्य सरोकारबालाहरु कालापानी पुग्दैछन ।
डिभिजन बन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले बर्दिवासको राजावास,कालापनी र वरडाडा क्षेत्रमा मात्र बनको एकहजार १सय हेक्टर जग्गा अतिक्रमण भएको जनाएका छन ।







