महोत्तरी ।
जलेश्वरस्थित रंगशालामा सञ्चालित महोत्तरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । महोत्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाबाट ७ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो तथा कबड्डी लगायतका खेल समावेश गरिएको थियो । एथलेटिक्स अन्तर्गत विभिन्न दूरीका दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले तथा जेभलिन थ्रोमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बर्दिबास नगरपालिका प्रथम हुँदै २०८३ सालको राष्ट्रपति रनिङ शिल्ड उपाधि जित्न सफल भएको छ । विजेता टोलीलाई महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सत्येन्द्र यादव ले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसैगरी औरही नगरपालिका दोस्रो तथा गौशाला नगरपालिका तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताभर खेलाडीहरूबीच उत्साहजनक प्रतिस्पर्धा देखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन ९ वर्षीय टेबल टेनिस खेलाडी सामर्थ्य गुप्ता लाई प्रमुख अतिथि बनाएर गरिएको थियो । खेलाडीलाई नै प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रमलाई विशेष तथा प्रेरणादायी अभ्यासका रूपमा हेरिएको छ ।
समापन कार्यक्रममा पूर्व मुख्यमन्त्री सरोज यादव, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, खेल संघका पदाधिकारी, शिक्षक, प्रशिक्षक, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, शिक्षक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा दर्शकप्रति धन्यवाद व्यक्त गरेको छ ।







