रञ्जन कुमार भण्डारी
महोत्तरी,८ ज्येष्ठ ।
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडानं. ७ को सरपल्लोमा दुई साख्खै दिदी बहिनी सहित तिन बालिकाको डुबेर मृत्यु भएको छ । सोहि वडा निवासी विरेन्द्र भण्डारीको छोरी वर्ष १३ की स्नेहा भण्डारी तथा वर्ष ६ की शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजिज नदाफकी छोरी अफ्साना खातुनको डुबेर मृत्यु भएको हो ।
सरपल्लो स्थित मुनीलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत स्नेहा र अफ्साना मिल्ने साथी भएकोले विद्यालय सकेर दुवै जना अंकुशी र जंघा खोलाको दोभानमा नुहाउने पुगेको आफन्तले जनाए । उनीहरुसंगै स्नेहा कि सानी बहिनी समेत दिदी पछ्याउदै नदीमा पुगेकि थिईन ।
नुहाउने क्रममा उनीहरुको खुट्टा चिप्लिएको र ठुलठुलो खाल्डाको कारणले उनीहरु डुबेको मृतक बालिकाहरु स्नेहा र शिवानी कि हजुरआमा मरनी देवीले बताईन ।
चार बहिनी मध्ये स्नेहा र शिवानी साहिँलो र कान्छी थिईन ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखाका प्रहरी निरिक्षक विश्म्भरनाथ साहले पौडी खेल्ने क्रममा तिनजना बालिकाको मृत्यु भएको जानकारी प्राप्त भएपछि प्रहरी पुगेर तिनैजना बालिकालाई प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको र चिकित्सकले मृत घोषणा गरेको बताए ।
अहिले मृत्यु भएका बालिकाहरुको मुचुल्का उठाउने कार्य भइरहेको र पोष्टमार्टमपश्चात शव परिवारजनलाई जिम्मा लगाइने प्रहरी निरिक्षक साहले बताए । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।







