रञ्जन कुमार भण्डारी
महोत्तरी,७ ज्येष्ठ ।
महोत्तरीको सम्सी गाउपालिका १ पर्सा देवाड स्थित नव विवाहिता महिलाको शंकास्पद मृत्युपछि माईतपक्षले आफ्नो छोरीको दाईजोको निहुमा हत्या गरिएको आरोप लगाएका छन । २०८२ फाल्गुण १४ गते सर्लाहीको हरिपुर्वा नगरपालिका ७ बसन्तपुर निवासी रामज्ञान मण्डल कि छोरी रंजिता मण्डलको महोत्तरीको सम्सी गाउपालिका १ पर्सादेवाड निवासी विजय मण्डलको छोरा रमेश मण्डलसंग विवाह भएकोमा विवाहको ८३ दिन नपुग्दै रंजिताको मृत्यु भएको हो ।
मंगलवार साझ उनले पासो लगाएर आत्महत्या प्रयास गरेको भन्दै उनका श्रीमानले उनलाई तत्काल उपचारको लागि रामगोपालपुर नगरपालिका ९ स्थित जानकी एकेडेमिक अस्पताल लगेकोमा उनलाई अस्पतालबाट मृत घोषणा गरिएको थियो । यता माइत पक्ष आफ्नो छोरीले पासो नलगाई उसको हत्या गरिएको बताएका छन । मृतक कि आमा कौशिल्या देवी मण्डलले केहि दिन पुर्वमात्रै आफनी छोरीसंग फोनमा कुरा हुदा ससुराली पक्षले माईतबाट भैंसी दाईजोमा लिएर आउ भनेर भनेको बताएकि थिईन । तथापी मेरो छोरीले तपाईहरुलाई दाईजोमा नगद १० लाख दिएको र सो पछि सुन लगायतको सामानहरु दिएकोले अब आफुले भैंसी नमाग्ने बताएपछि परिवारमा छोरीमाथि कुटपिट हुन थालेको र आज हत्या नै भएको आरोप लगाईन ।
यता सोधपुछको लागि श्रीमानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बताए । उनले हत्या वा आत्महत्या बारे पोष्टमार्टम रिपोर्टपछिमात्र केहि भन्न सक्ने बताए । एसपी शर्माले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको बताए । उनले घटनाको सुक्ष्म अनुसन्धान भैरहेको बताए ।
यता महिलाको मृत्यु पछि ससुराली घरमा सवै सदस्य सम्पर्क बिहिन छन ।







