महोत्तरी, १ जेठ ।
मुक्त हरवाचरवा समुदायका अगुवाहरूलाई संगठित, सक्षम र अधिकारमुखी अभियान सञ्चालनमा दक्ष बनाउने उद्देश्यसहित महोत्तरीको बर्दिवासमा दुई दिने अभियान व्यवस्थापन तालिम सुरु भएको छ ।
राष्ट्रिय दलित नेटवर्क नेपाल ले द फ्रिडम फण्ड को सहयोग तथा मुक्त हरवाचरवा अधिकार मञ्च सँगको समन्वयमा आयोजना गरेको तालिम बिहीबारदेखि बर्दिवासस्थित दीपक पार्टी प्यालेसमा सुरु भएको हो । तालिम शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ ।
दक्षिण–पूर्वी तराई क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा मुक्त हरवाचरवा समुदायका २० जना प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममार्फत समुदायका अगुवाहरूलाई प्रभावकारी अभियान सञ्चालन, नेतृत्व विकास तथा अधिकारमुखी वकालतमा सक्षम बनाउने लक्ष्य राखिएको छ ।
तालिममा रणनीतिक अभियान निर्माण, मुद्दा पहिचान तथा विश्लेषण, सन्देश विकास, सरोकारवालासँग समन्वय, सञ्चारमाध्यम परिचालन तथा प्रमाणमा आधारित पैरवीका विषयमा प्रशिक्षण दिइनेछ । साथै नीतिगत सुझावपत्र तयार गर्ने, सामुदायिक अभियान सञ्चालन गर्ने तथा अभियानको प्रगति अनुगमन गर्ने व्यावहारिक सीपसमेत सिकाइने कार्यक्रम रहेको छ ।
तालिमको सहजीकरण बलराम भट्टराई, हुकुम सार्की तथा पत्रकार एवं हरवाचरवा अभियानकर्मी बृजलाल पासवान ले गरिरहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै दशन लाल मण्डल ले यस्ता तालिमले मुक्त हरवाचरवा समुदायको आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले समुदायका अगुवाहरूलाई संगठित र सक्षम बनाउँदै अधिकार प्राप्तिका लागि प्रभावकारी अभियान सञ्चालन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
उनले मुक्त हरवाचरवा समुदायको न्यायपूर्ण पुनःस्थापना, शिक्षा, रोजगारी तथा सम्मानजनक जीवन सुनिश्चित गर्न राज्य थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
आयोजक राष्ट्रिय दलित नेटवर्क नेपाल ले क्षमता अभिवृद्धिमूलक कार्यक्रममार्फत मुक्त हरवाचरवा समुदायको सामाजिक न्याय, सम्मानजनक जीवन तथा अधिकार सुनिश्चितताका लागि निरन्तर पहल गर्दै आएको जनाएको छ ।







