विशाल बस्नेत

महोत्तरी । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महोत्तरीले भूमि अधिकारको पक्षमा खबरदारी गर्दै भव्य र्‍याली निकालेको छ ।शुक्रबार सरकारविरुद्ध नाराबाजी गर्दै हजारौँ सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले र्‍याली निकालेका हुन् ।

सरकारले ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान देशभर सुरु गरेसँगै अहिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ ।

भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौद सिंह स्याङ्बाले प्रारम्भिक चरणमै हजारौँ जनता सडकमा उत्रिएको बताउँदै सरकारको तानाशाही निर्णयविरुद्ध थप आन्दोलनका लागि मोर्चाबन्दी भइरहेको बताए ।

महासचिव स्याङ्बाका अनुसार महोत्तरीमा मात्रै २७ हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । तर भूमि समस्या समाधान आयोग महोत्तरीले उपलब्ध गराएको तथ्यांकअनुसार लागत प्रविष्ट गराएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको संख्या महोत्तरीमा १९ हजार ६०७ रहेको छ ।

जसमध्ये भूमिहीन दलित ५ हजार ३२२, भूमिहीन सुकुम्बासी ५ हजार २५ तथा अव्यवस्थित बसोबासी ९ हजार २६० घरपरिवार रहेका आयोगका पूर्व जिल्ला अध्यक्ष पिताम्बर महतोले जानकारी दिए । जिल्लाको उत्तरी क्षेत्रमा अधिकांश अव्यवस्थित बसोबासी रहेका छन् ।

आधा शताब्दीदेखि भोगाधिकार गर्दै आएका कतिपयले किनबेचसमेत गर्दै आएका छन् । यद्यपि वन क्षेत्रमा व्यापक अतिक्रमण गरी कतिपय स्थानमा बस्तीसमेत बसाइएको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालय प्रमुख अजय मिश्रका अनुसार अतिक्रमित वन क्षेत्र पहिचान गरी सात दिने सूचना समेत जारी गरिसकिएको छ ।

सागरनाथ वन परियोजना, सामुदायिक, साझेदारी तथा धार्मिक वनका हेक्टरौँ जग्गा अतिक्रमणमा परेको र त्यस्ता क्षेत्रलाई नियन्त्रणमुक्त बनाउने अभियान सुरु भइसकेको प्रमुख मिश्रको भनाइ छ ।

संसदकै त्रासपूर्ण अभिव्यक्ति

महोत्तरी क्षेत्र नं. १ का संघीय सांसद प्रमोद महतोले तत्काल डोजर नचल्ने भए पनि भविष्यमा चल्न सक्ने संकेत गरेका छन् ।सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको क्षेत्र नं. १ मा सांसद महतोको अभिव्यक्तिले थप शंकाको अवस्था सिर्जना भएको स्थानीयहरूले बताएका छन् ।

उनीहरूले जिल्लास्थित सरोकारवाला निकायले जारी गरेको सूचनाविपरीत भ्रम र त्रास सिर्जना गरिएको आरोप लगाएका छन् ।जिल्ला प्रशासन कार्यालयको सूचनामा भने ऐलानी, पर्ती, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको पाइए नियन्त्रणमुक्त बनाइने उल्लेख गरिएको छ ।

सांसद महतोले भनेका छन्, ‘हाल महोत्तरीका विभिन्न स्थानमा सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकहरूको घर तत्काल भत्काइने भन्ने हल्ला फैलाएर जनतामा भ्रम र त्रास सिर्जना गर्ने प्रयास भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले कुनै निकायले बल प्रयोग गरेर वा आवश्यक प्रक्रिया पूरा नगरी घर भत्काउने कार्य गरे त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयंले वहन गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।