स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारदेखि सुकुमवासी व्यवस्थापनसम्म व्यापक योजना सार्वजनिक
काठमाडौं, २८ वैशाख ।
सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा आर्थिक पुनर्संरचनालाई मुख्य प्राथमिकतामा राखेको छ । सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले आर्थिक सुधारसँगै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, सीमा सुरक्षा, डिजिटल सेवा तथा सामाजिक सुरक्षालाई समेट्दै बहुआयामिक योजना अघि सारेको छ । नीति तथा कार्यक्रममा सहकारी पीडितको बचत फिर्तादेखि भूमिहीन सुकुमवासीको व्यवस्थापन, स्वास्थ्य बिमा पुनर्संरचना, रेलमार्ग अध्ययन तथा सार्वजनिक यातायात सुधारसम्मका विषय समावेश गरिएका छन् ।
सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न सरकारले कर्जा सूचना प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ । उक्त प्राधिकरणमार्फत सहकारी ऋणीहरूको विवरण संकलन, ऋण असुली तथा बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइनेछ । आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने, दोहोरो करमुक्त सम्झौता विस्तार गर्ने तथा उद्यमी र मध्यम वर्गमाथिको करको भार घटाउने नीति पनि सरकारले लिएको छ ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउन सार्वजनिक–निजी साझेदारीमा कृषि कम्पनी स्थापना गरिने भएको छ । बाली लगाउनुअघि नै समर्थन मूल्य निर्धारण गर्ने, आपूर्ति शृंखला सुदृढ गर्ने तथा विषादी आयात र प्रयोग नियन्त्रणलाई कडाइ गरिने नीति सरकारले अघि सारेको छ । भूमि बैंक प्रणालीमार्फत बाँझो जमिन उपयोगमा ल्याइने तथा युवा, महिला, भूमिहीन र सीमान्तकृत किसानलाई उत्पादन कार्यक्रममा जोडिने उल्लेख गरिएको छ । किसान सूचीकरण, किसान परिचयपत्र र किसान क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण कर्जामा पहुँच विस्तार गरिनेछ ।
सरकारले भूमिहीन सुकुमवासी तथा असुरक्षित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन सुरक्षित आवास व्यवस्थाको योजना पनि सार्वजनिक गरेको छ ।
शिक्षा क्षेत्रमा उच्च शिक्षालाई श्रम बजारसँग प्रत्यक्ष जोड्ने नीति ल्याइएको छ । “सिक्दै, कमाउँदै” कार्यक्रममार्फत उद्योग तथा कम्पनीसँग सहकार्य गरी विद्यार्थीलाई अध्ययनसँगै रोजगारीमा जोडिने व्यवस्था गरिने सरकारको भनाइ छ । प्राथमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने, दिवा खाजा तथा पाठ्यपुस्तक वितरणलाई थप प्रभावकारी बनाउने नीति पनि कार्यक्रममा समेटिएको छ ।
स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । स्वास्थ्य बिमालाई पारदर्शी, व्यवस्थित र बिरामीमैत्री बनाइने जनाउँदै सरकारले सेवा प्रदायक अस्पतालसँगको भुक्तानी समस्या समाधान गर्ने संकेत दिएको छ ।
त्यसैगरी, स्वास्थ्य जनशक्ति थप गर्ने, क्यान्सरलगायत जटिल रोग रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा राष्ट्रिय मानसिक स्वास्थ्य नीति लागू गर्ने योजना पनि सरकारले अघि सारेको छ । पुनस्र्थापना केन्द्र स्थापना र अधिकांश स्वास्थ्य संस्थामा फिजियोथेरापी सेवा विस्तार गरिने उल्लेख गरिएको छ ।
सरकारले आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवाको विस्तार र प्रभावकारितामा पनि जोड दिएको छ । रोगको रोकथाम र न्यूनीकरणका लागि वैकल्पिक उपचार प्रणालीलाई प्राथमिकतामा राखिने नीति सार्वजनिक गरिएको हो ।
पूर्वाधार विकासतर्फ सरकारले केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि लगानी मोडालिटी अध्ययन गर्ने भएको छ । राजधानीको सार्वजनिक यातायात सुधार गर्न बस र्यापिड ट्रान्जिट (बीआरटी) प्रणाली निर्माण गरिनेछ भने विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने नीति पनि अघि सारिएको छ । सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी गाभ्ने तथा पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी खुला गर्ने नीति सरकारले लिएको छ ।
वातावरण संरक्षणअन्तर्गत कार्बन प्राधिकरण गठन गर्ने तथा बागमतीसहित उपत्यकाका नदी सफा र स्वच्छ बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।
सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले एकीकृत सीमा सूचना प्रणाली, अनुहार पहिचान प्रणाली, ड्रोन तथा नाइट भिजन क्यामेरामार्फत निगरानी बढाउने योजना अघि सारेको छ । सीमा विवाद समाधानका लागि कूटनीतिक संवादलाई प्राथमिकता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
अध्यागमन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने नीति सरकारले लिएको छ । यसबाट पर्यटकको विवरण एकीकृत हुने तथा भ्रमणसम्बन्धी अनुमति प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेलले उत्पादन र रोजगारी वृद्धि गर्दै वैदेशिक रोजगारीलाई विकल्पमा रूपान्तरण गर्न “राष्ट्रिय प्रवद्र्धन दशक” घोषणा गरिने जानकारी दिँदै आगामी वर्ष सेवा प्रवाह सुधार, आर्थिक पुनरुत्थान र सामाजिक सुरक्षा सुदृढीकरणमा सरकार केन्द्रित रहने स्पष्ट पारे ।