सर्लाही, २८ वैशाख ।
सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिल नजिक सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
हुलाकी सडक छेउको जलकुम्भी भएको क्षेत्रमा अन्दाजी ४० वर्षीय पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीका अनुसार शव अत्यधिक सडेको अवस्थामा फेला परेको थियो । घटनास्थल वरपर दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आइतबार अपराह्न सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट टोली खटिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट गएको अनुसन्धान टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।
प्रहरीका अनुसार घाम र वर्षाका कारण शवको अवस्था बिग्रिसकेको छ । कपडाको आधारमा मात्रै केही विवरण पहिचान गर्न सकिने अवस्था रहेको जनाइएको छ ।
मृतकको परिचय खुलाउने तथा मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।







