काठमाडौं, २८ वैशाख ।
संवैधानिक दायित्वअन्तर्गत आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने तयारीबीच संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्नुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त बैठकसमेत आयोजना हुँदैछ ।
यस अधिवेशनमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । असार मसान्तभित्र बजेट पारित र प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यसैगरी सरकारले संसद् अधिवेशन नरहेका बेला जारी गरेका आठवटा अध्यादेश पनि संसद्मा पेश गर्दैछ । ती अध्यादेशलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने दायित्व संसद्माथि रहेको छ ।
सरकारले ४० भन्दा बढी विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, चलचित्र विधेयकलगायतका महत्वपूर्ण विधेयकमाथि पनि यही अधिवेशनमा प्रक्रिया अघि बढ्नेछ । संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।







