काठमाडौं, २८ वैशाख ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको विभागले जनाएको छ ।

सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औँल्याइएको छ ।

विभागले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।