काठमाडौं, २८ वैशाख ।
तुर्किस एयरलाइन्सको इस्तानबुलबाट काठमाडौं आएको टिके–७२६ नम्बरको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दुर्घटनाबाट जोगिएको छ ।
विमान अवतरण गर्ने क्रममा टायरमा आगलागी भएपछि केही समय विमानस्थलको रनवे बन्द गरिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरणका क्रममा टायरबाट आगो निस्किएको थियो । तत्कालनै दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको उनले बताए ।
“विमान सुरक्षित रूपमा अवतरण भएको थियो । आगो नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाइएको छ । अहिले प्राविधिक जाँच जारी छ,” सिलवालले भने ।
विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए । सबैलाई सकुशल बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ ।
घटनापछि सुरक्षा परीक्षणका लागि केही समय रनवे बन्द गरिएको थियो । अहिले प्राविधिक टोलीले विमानको विस्तृत परीक्षण गरिरहेको छ ।







