काठमाडौं, २८ वैशाख ।
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ । आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि औपचारिक रूपमा सुरु हुँदैछ ।
प्रतिनिधिसभा नियमावलीअनुसार बजेट अधिवेशनको प्रारम्भमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले वाचन गरेपछि प्रधानमन्त्रीले उक्त नीति तथा कार्यक्रम दुवै सदनमा टेबुल गर्नेछन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । अतिथि व्यवस्थापनदेखि सुरक्षा र प्राविधिक तयारीसम्म सबै काम सम्पन्न गरिएको उनले बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमलाई आर्थिक सुधार, रोजगारी, पूर्वाधार विकास र सेवा प्रवाह सुधारमा केन्द्रित गर्ने तयारी गरेको जनाएको छ ।
बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै जारी गरेका आठवटा अध्यादेश पनि संसद्मा पेश हुनेछन् । त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, बैठक सञ्चालनसम्बन्धी विषय र अन्य विधेयकहरू पनि प्रस्तुत गरिने कार्यसूची छ ।
सरकारले यो अधिवेशनमा कम्तीमा ४५ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयकसमेत यही अधिवेशनमा अघि बढाइने जनाइएको छ ।







