काठमाडौं, २८ वैशाख ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ ।

बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले शिक्षा मन्त्रालय, बोर्ड पदाधिकारी र सम्बन्धित निकायबीच अन्तिम बैठकपछि नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

उनले भने, “प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । मन्त्रालय र बोर्डको अन्तिम बैठकपछि सम्भवतः मंगलबार नतिजा सार्वजनिक हुन्छ ।”

यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण विगतको तुलनामा नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको बोर्डको भनाइ छ । अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका परीक्षणमै करिब एक महिना समय लाग्ने गरेको थियो ।

एसइई परीक्षा सम्पन्न भएपछि वैशाख ५ गते ७७ वटै जिल्लाबाट उत्तरपुस्तिका र प्राप्तांक विवरण सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याइएको थियो । त्यसपछि नतिजा प्रशोधन तथा प्राविधिक परीक्षणको काम सुरु गरिएको बोर्डले जनाएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ४६ हजार ५७६ तथा ग्रेडवृद्धितर्फ ६३ हजार ४८५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र सहभागी थिए ।

विगतमा एसइईको नतिजा सार्वजनिक गर्न तीन महिनासम्म लाग्ने गरेको थियो । यसपटक भने सरकारले निर्देशिका संशोधन गर्दै एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

समयमै नतिजा आउने भएपछि विद्यार्थीलाई कक्षा ११ अध्ययनको विषय छनोट र आगामी शैक्षिक योजना तय गर्न सहज हुने विश्वास गरिएको छ ।