विराटनगर, २८ वैशाख ।
मोरङको सीमावर्ती जोगवनी नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
मोरङ जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा नाकामा चेकजाँचलाई थप प्रभावकारी बनाइएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यो कदम विशुद्ध रूपमा नेपालको आन्तरिक सुरक्षा सतर्कताका लागि चालिएको स्पष्ट पारे ।
उनले भने, “यो कुनै द्विपक्षीय सहमतिका आधारमा गरिएको निर्णय होइन । नेपाली सीमामा अवैध प्रवेशको सम्भावना देखिएकाले निगरानी र चेकजाँच कडा बनाइएको हो ।”
सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि त्यहाँ रहेका रोहिंगिया मुस्लिमहरू नेपालतर्फ प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन सतर्क बनेको हो । भारतीय सञ्चारमाध्यमहरूमा पश्चिम बंगालबाट मुस्लिम समुदाय विस्थापित भइरहेका तथा विभिन्न स्थानतर्फ सर्ने प्रयास गरिरहेका समाचार र भिडियोहरू सार्वजनिक भइरहेका छन् ।
स्रोतका अनुसार प्रशासनले विशेषगरी कलकत्ताबाट जोगवनी आउने रेलमार्फत ठूलो संख्यामा मानिस नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाएको हो । “मालदा क्षेत्र रोहिंगिया मुस्लिमको बाक्लो बसोबास भएको क्षेत्र मानिन्छ । त्यहाँबाट रेलमार्फत नेपाल छिर्ने प्रयास हुन सक्ने अनुमान गरिएको छ,” सुरक्षा स्रोतले जनाएको छ ।
यसैलाई ध्यानमा राख्दै रेल आगमनको समयमा विशेष सुरक्षा योजना लागू गरिएको छ । एकैपटक सयौँ यात्रु सीमा नाकाबाट प्रवेश गर्दा परिचयपत्र परीक्षण र निगरानीलाई व्यवस्थित बनाइएको प्रशासनले जनाएको छ ।
सीमामा अवैध आवतजावत रोक्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । प्रशासनका अनुसार सुरक्षा सतर्कता रोहिंगिया प्रवेशको सम्भावनामा मात्र सीमित नभई फरार अपराधीहरूको आवतजावत रोक्न पनि केन्द्रित छ ।
“नेपालका करिब ५ सय फरार कैदी भारततर्फ लुकेर बसेको अनुमान छ । उनीहरूको सम्भावित गतिविधिलाई समेत ध्यानमा राखेर निगरानी बढाइएको हो,” स्रोतले जनाएको छ ।
प्रशासनले यो निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनमा नभई जिल्ला सुरक्षा समितिको स्वतन्त्र सुरक्षा मूल्याङ्कनका आधारमा गरिएको स्पष्ट पारेको छ ।







