रञ्जन कुमार भण्डारी
महोत्तरी,२२ वैशाख ।
महोत्तरीका कृषक रामध्यान मण्डललाई उनकै कृषी फर्ममा भेटेर मधेश प्रदेशका सभामुख रामअशिष यादवले स्यावासी दिएका छन । सानो उमेरमा कृषी कर्ममा पौरख देखाएर युवालाई कृषीप्रति आकर्षित गरेको भन्दै सभामुख यादवले उनलाई स्यावासी दिएका हुन । सम्सी गाउपालिका वडा नं. ४ स्थित माँ वैष्णोदेवी कृषी फर्ममा मंगलवार अनुगमन भ्रमणमा पुगेका सभामुख यादवले स्वदेशमै युवाले चाहे आयआर्जनको बाटो खोज्न सक्ने र उनले सोहि गरेर युवालाई आफ्नै देशमा केहि गर्न अभिप्रेरित गरेकोमा गमछा ओढाई सम्मान गरे ।

सभामुख यादवले उनी युवाको लागि प्रेरणाको स्रोत भएकोले कहिल्यै विचलित नहुन र आफ्नो कृषी कर्ममा निरन्तर लागिरह्न मण्डललाई सुझाए । सभामुख यादवसंगै पर्यावरण अभियानी सुरेश शर्मा समेतले मण्डलको साहसिक कार्यप्रति उनलाई बधाई दिएका छन ।
पछिल्लो समय महोत्तरीको रामगोपालपुर नगरपालिका १ लक्ष्मीपुर स्थित लिजमा लिएको २२ विग्हा मध्ये ७ विग्हा जग्गामा तरबुजा खेती गरेका छन ।
मण्डल पछिल्लो ६ वर्ष देखि माँ वैष्णेदेवी कृषी फर्म मार्फत सम्सी गाउपालिका र रामगोपालपुर नगरपालिकामा कुल ५४ विग्हा जग्गामा फलफुल,तरकारी,माछा पालन र कुखुरा पालन गरि १६÷१७ जनालाई स्वदेशमै रोजगारी समेत दिन सकेका छन । कृषी क्षेत्रमै काम गर्दै युवाहरुलाई विदेशिनु भन्दा आफ्नै ठाउमा कृषी मार्फत राम्रो आम्दानी गर्न सक्ने संदेश उनले दिईरहेका छन ।
कृषक मण्डल रामगोपालपुर नगरपालिका र सम्सी गाउपालिका मा करिव ५४ विग्हामा खेती गर्दैछन ।








