रञ्जन कुमार भण्डारी
महोत्तरी,२० वैशाख ।
नेपालमा विदेशिने युवाहरुको संख्या बढीरहेको बेला महोत्तरीका एक युवा भने स्वदेशमै कृषीकर्मको माध्यमले मनग्य आम्दानी गर्दैछन । उनले गरे के हुन्न र भन्ने संदेश दिदै तरबुजा खेतीबाटै लाखौं आम्दानी गर्ने लक्ष्य सहित कृषीमा सम्भावना खोज्दैछन ।
महोत्तरीको रामगोपालपुर नगरपालिका १ लक्ष्मीपुर स्थित वर्षौ देखि बाझो रहेको जग्गामा तरबुजा लगाएका युवा कृषक रामध्यान मण्डलले लाखौं आम्दानी गर्ने लक्ष्य राखेका छन । उनले आफ्नै परिश्रमले बाझो खेतलाई हराभरा बनाउदै आम्दानीको स्रोत सृजना गरेका हुन । यहि खेतमा लगाइएको तरबुजाको स्याहार गर्ने देखि पाकेको तरबुजा बजार पुर्याउने कार्यमा उनी व्यवस्त छन ।

रामगोपालपुर नगरपालिका स्थित मा.वि. बसविट्टीबाट वार्षिक ६ लाख पचास हजारमा २२ विग्हा जग्गा लिजमा लिएका रामध्यानले करिव ७ विग्हामा लगाइएको तरबुजा खेतीमा हालसम्म १४ लाख खर्च गरिसकेका छन । उनले पहिलो लटमा ३ लाख पचास हजारको तरबुजा बेचेका छन भने २५ लाखसम्मको आम्दानी गर्ने उनको लक्ष्य छ ।
महोत्तरीको सम्सी गाउपालिका वडा नं. ४ निवासी मण्डल पछिल्लो ६ वर्ष देखि माँ वैष्णेदेवी कृषी फर्म मार्फत सम्सी गाउपालिका र रामगोपालपुर नगरपालिकामा कुल ५४ विग्हा जग्गामा फलफुल,तरकारी,माछा पालन र कुखुरा पालन गरि १६÷१७ जनालाई स्वदेशमै रोजगारी समेत दिन सकेका छन । कृषी क्षेत्रमै काम गर्दै युवाहरुलाई विदेशिनु भन्दा आफ्नै ठाउमा कृषी मार्फत राम्रो आम्दानी गर्न सक्ने संदेश उनले दिईरहेका छन ।
तर खेती अवसरमात्र नभई चुनौती पनि हो । खेतमा तरबुजा टन्न छ र तरबुजासंगै तरबुजा चोरी हुन सक्ने र जंगली जनावरले विगार्न सक्ने चुनौती पनि उतिक्कै छ । उनले विधुत र पानीको सिधा पहुच नभएको आफ्नो तरबुजाको खेतमा दम्कलले पानी व्यवस्था गरि बाझो खेतलाई हरियालीमा परिणत गर्न सकेका छन । तर फलेको फल निलगाई र अन्य जनावरहरुले बर्बाद गर्न सक्ने चिन्ताका बिचपनि हसियो र विश्वासले भरिएर उनले आफ्नो प्रयास भने घटाएका छैनन ।

हाल भारतबाट आयात हुने तरबुजा लगायतका फलफुलको विकल्प नेपालीको खेतमा उत्पादित तरबुजा र फलफुल हुन सक्ने भएकोमा भारतको विषादीयुक्त फलफुल र तरबुजा भन्दा आफ्नो उत्पादन उत्तम रहेको र बजारकै समेत समस्या नभएको मण्डल बताउछन । उनी जनकपुर,ढल्केवर,बर्दिवास र नजिकका अन्य बजारहरुमा सहजै आफ्नो उत्पादन विक्री भैरहेको थप्छन ।
विदेशमा गएर परिश्रम बेच्ने युवालाई आफ्नै देशमा प्रसस्त खेतहरु बाझो रहेको स्मरण गराउदै उनी कृषीमा लाग्न अभिप्रेरित गर्दैछन । विदेशमा गर्ने परिश्रम नेपालमै गरे जिविकोपार्जनमा समस्या नहुने उनको तर्क छ ।








