विशाल बस्नेत

महोत्तरी, वैशाख ।

७ वर्षअघि १ महिलाले सार्प सुटर प्रयोग गरेर आफ्नै पतिको हत्या गरेको घटना महोत्तरीको बर्दिवासमा अझै सेलाएको छैन । ५ जना पेसेवर सुटर बोलाएर पतिको हत्या गरेको सनसनीपूर्ण घटनाले प्रहरीलाई नै लामो समय अल्मल्याएको थियो । बर्दिवास–सिन्धुली सडक खण्डअन्तर्गत स्मृतिपार्क नजिकै ०२–००१ प ३०५४ स्कुटरमा कुनै क्षति नभएको र हेल्मेट र टाउकोमा गहिरो चोट लागेको अवस्थामा बर्दिवासका श्रवन थापा २०७६ साउनमा घाइते अवस्थामा भेटिएका थिए ।

चोटपटक लागेको अवस्थामा भेटिएका श्रवनलाई प्रहरीले उद्धार गरेर उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भयो । त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेका प्रमाणहरू निक्कै डरलाग्दा छन् । २०७६ सालमा नै घटनामा संग्लन ४ जना पेसेवर सुटरहरू पक्राउ परेपछि आफ्नै पत्नीले बनाएको योजनाअनुसार नै श्रवनको हत्या भएको प्रमाणित भयो । सोही समयदेखि फरार अवस्थामा रहेका पत्नी पूजा थापा र सोही योजनामा संग्लन पूजाका बहिनी अर्थात् मृतक श्रवणका सालीहरू निशा बस्नेत (गौतम) र आरती बस्नेत (थापा) बिहीबार पक्राउ परेका छन् ।

यसरी पत्ता लाग्यो पत्नी नै हत्याको मुख्य योजनाकार भएको

जनकपुरमा पोस्टमार्टम रिपोर्टपछि टाउकोमा प्रहार गरेर श्रवनको हत्या गरिएको निष्कर्ष निकालिएको थियो । घटनास्थलमा प्राप्त भएका केही प्रमाणहरूका आधारमा घटनालाई प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको थियो । जसको नेतृत्व तत्कालीन इलाका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक निशान थापाले गरेका थिए । यता, श्रवनकी पत्नी पूजा भने संस्कारअनुसार क्रियाकर्ममा बसेकी थिइन् । केही दिनअघि मात्र श्रवणले गौरीडाँडाको एउटा जग्गा २० लाख रुपैयाँमा बेचेका थिए ।

कतै पैसाको कारणले हत्या त भएको होइन भन्ने आशंकामा प्रहरीले मृतककी पत्नी पूजालाई निगरानीमा राखेको थियो । घटनास्थलमा भेटिएका केही प्रमाणका आधारमा प्रहरी हत्यारासम्म पुग्यो । अनि, हत्यामा संग्लन सर्लाहीका प्रमोद सिंह र मुकेश साह, रौतहटका ज्ञनारायण महरा र नरेश सहनीलाई पक्राउ गर्न सफल बन्यो ।

यसै घटनामा संग्लन रौतहटकै जाम मोहम्मद अझै फरार छन् । हत्यामा संग्लग्नहरू पक्राउ परेको थाहा पाएपछि मृतककी पूजा, सालीहरू निशा र आरती क्रियाकर्म सकिनासाथ एकाएक फरार भए । जसले श्रवनको मृत्युमा परिवारको सग्लनता रहेको पुष्टि भएको थियो । पछि पक्राउ परेकाहरूको बयानले पनि मुख्य योजनाकार पत्नी र सर्लाही निवासी साली निशाको भएको खुलासा भयो ।

…अनि बन्यो हत्याको योजना

प्रहरीले दिएको विवरणअनुसार श्रवन थापाले लागुऔषध सेवन गर्ने र परिवारलाई दुःख दिने गर्थे । उनले कैयौँपटक बाहुनमारास्थित ससुरालीमा गएर सासू लक्ष्मी बस्नेतको नै अगाडि सालीहरूलाई जिस्क्याउने र ‘अपाच्य’ किसिमका व्यवहारहरू गरेका थिए । यो कुरा पत्नी पूजाले पनि थाहा पाइन् । आमा लक्ष्मीसमेत ज्वाइँको व्यवहारदेखि चिन्तित थिइन् । माइती पक्षबाट पतिका विषयमा नकारात्मक कुरा बाक्लै आएपछि पूजा पतिको हत्या गराउने निष्कर्षमा पुगिन् । पूजाले यो विषय सर्लाही बस्ने आफ्नी बहिनी निशालाई भनिन् ।

त्यसपछि श्रवनको हत्या कसरी गर्ने भन्ने सम्बन्धमा दिदीबिहनी योजना बनाउन लागे । छलफलमा आमा लक्ष्मीले ज्वाइँको हत्या गर्ने विषयमा खासै असहमति जनाइनन् । निशाले हत्या गर्ने मान्छे खोज्दै गर्दा सर्लाहीकै प्रमोद सिंहसँग कुराकानी गरिन् । प्रमोदले सहमति जनाउँदै सोही जिल्लाका मुकेश साह र रौतहटका ज्ञनारायण महरा, नरेश सहनी र जाल मोहम्मदसँग सम्पर्क गरे । आफूहरूसँग बन्दुक नभएकाले तुरुन्त हत्या गर्न नसकिने भन्दै जाल मोहम्मदले १–२ दिन पर्खन अनुरोध गर्छन् तर पत्नी पूजा र साली निशाले तुरुन्तै हत्या गर्नुपर्ने भनेपछि प्रमोदसहित ५ जना अघिल्लो दिन अर्थात् साउन–३० गते नै बर्दिवास आइपुग्छन् ।

उनीहरू आएपछि राति नै हत्याको योजना बन्यो । यसका लागि निशा र आमा लक्ष्मी पनि त्यो रात मृतक श्रवनको घर आइपुगे । यतिबेलासम्म रातको करिब ११ बज्न लागेको थियो । आमा लक्ष्मीको नियमित खाने औषधि सकिएको र राति नै ल्याउनु पर्ने बहाना बनाउँदै श्रवनलाई तीनै जनाले अनुरोध गरे । अब श्रवन सासूको औषधि लिन घरबाट निस्किए । घरबाट निस्कनासाथ पूजाले मार्नका लागि बोलाएकामध्ये जाल मोहम्मदलाई सम्पर्क गरेर श्रवनले चलाएको स्कुटरको ०२–००१ प ३०५४ नम्बर टिपाइन् ।

उनीहरू स्मृतिपार्क नजिकै उक्त स्कुटर आउने र आक्रमण गर्ने तयारीमा बसे । स्कुटर आएपछि श्रवनलाई रोक्न लगाए र ढुंगालगायतले जथाभावी प्रहार गर्न थाले । त्यसपछि श्रवन घटनास्थलमा नै ढले । मान्छे ओहोरदोहोर गर्न थालेपछि गम्भीर अवस्थामा रहेका श्रवनलाई छोडेर पाँचै जना भागे ।

पूजाले ५ लाख रुपैयाँको सुपारी कबोल गरेकी थिइन् । तर त्यो बेला ३ लाख रुपैयाँ मात्र दिएर उनीहरूलाई त्यहाँबाट भगाइन् । श्रवनको ज्यान गएको खबर आयो । भोलिपल्ट दांहसंस्कार सकेपछि पत्नी पूजा पनि क्रियामा बसिन् । भदौ ३ गते जाल मोहम्मदबाहेक अन्य ४ जना भने पक्राउ परे । पक्राउ पर्नासाथ पूजासहित सालीहरू पनि भारत भागेको प्रहरीले जनाएको छ ।

कार्यालय प्रमुख बमलाई सम्मान

निक्कै प्रयासपछि अभियुक्त पूजा र उनका बहिनीहरूलाई पक्राउ गरेको भन्दै कार्यालय प्रमुख विकास बमलाई जिल्ला गोदार थापा कार्यसमितिले सम्मान गरेको छ । कार्यालय प्रमुख बमको नेतृत्वमा लामो समयदेखि फरार रहेका उनीहरूलाई भारतको गोआमा रहेको पत्ता लगाएर नेपाल ल्याएर पक्राउ गरिएको थियो ।

डिएसपी बमकै नेतृत्वमा भारतबाट नेपालगन्ज ल्याएर उनीहरूलाई पक्राउ गरिएको थियो । बाँके प्रहरीको सहयोगमा पक्राउ परेका उनीहरूलाई बिहीबार नै जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला अदालतबाट संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा २०७६ भदौ ५ मा नै पक्राउ अनुमति जारी भएको थियो । उक्त घटनामा १२ जना अभियुक्त छन् । यसमध्ये ७ जना पक्राउ परिसकेका छन् भने मृतककी सासू लक्ष्मी बस्नेत, सालीहरू कोपिला बस्नेत, अनुसा बस्नेत, सोनी बस्नेत र जाल मोहम्मद अझै फरार छन् ।