सर्लाही, १९ वैशाख ।
सर्लाहीमा मिर्गौला (किड्नी) का बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ। ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा पहिलोपटक यो सेवा सञ्चालनमा ल्याइएको हो।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गलीलाल रायले शुक्रबार सेवा उद्घाटन गर्नुभयो। अब यहाँका बिरामीले डायलासिस गराउन बर्दिवास, जनकपुर, वीरगञ्ज, भरतपुर वा काठमाडौँ जानु पर्ने समस्या हटेको छ।
नगरप्रमुख मनोजकुमार आचार्यका अनुसार दुईवटा डायलासिस मेसिनबाट सेवा सुरु गरिएको हो। हाल यी मेसिनबाट दैनिक दुई जनासम्मलाई सेवा दिन सकिन्छ।
स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोका अनुसार पाँचवटा मेसिन पुगेपछि मात्रै पूर्ण रूपमा सेवा सञ्चालन गर्न सकिनेछ। त्यसका लागि थप तीनवटा मेसिन ल्याउने पहल भइरहेको छ।
उद्घाटन कार्यक्रममा मन्त्री रायले प्रदेश सरकारले आवश्यक मेसिन र जनशक्ति उपलब्ध गराउने बताउनुभयो। उहाँले धेरै नागरिकलाई फाइदा हुने ठूला योजनामा सरकारले ध्यान दिइरहेको पनि जानकारी दिनुभयो।
डायलासिस सेवा सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गर्नुका साथै तालिमसमेत दिएको छ। डायलासिस असिस्टेन्टका रूपमा सुस्मिता सिंह नियुक्त भएकी छन् भने डा. दीर्घनारायण दास र नर्स ममता साहलाई तालिम दिइएको छ।
नगरपालिकाका बासिन्दालाई यो सेवा निःशुल्क हुनेछ। अन्य ठाउँका बिरामीले भने एकपटक डायलासिस गर्दा २,५०० रुपैयाँ तिर्नुपर्नेछ। आवश्यक रगतका लागि मलङ्गवास्थित ब्लड बैंकसँग समन्वय गरिनेछ।
मन्त्री रायले नगर अस्पतालमै ब्लड बैंक स्थापना गर्ने योजना रहेको पनि बताउनुभयो। उहाँले जिल्लामै पहिलोपटक यस्तो सेवा सुरु हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो।







