जनकपुरधाम, १६ बैशाख ।

जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको मनपरी नियन्त्रण गर्न र शैक्षिक अनुशासन कायम गर्ने उद्देश्यसहित व्यापक अनुगमन अभियान सुरु गरेको छ ।

शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित गठन गरिएको अनुगमन समितिले बुधबारदेखि औपचारिक रूपमा विद्यालयहरूको स्थलगत निरीक्षण थालेको हो । अभियानअन्तर्गत पहिलो दिन जनकपुरधाम–१३ मा रहेका विभिन्न निजी विद्यालयहरूको अनुगमन गरिएको छ ।

सो क्रममा गार्गी मेमोरियल इङ्गलिस बोर्डिङ स्कूलसहित अन्य विद्यालयहरूमा पुगेर समितिले शुल्क संरचना, पाठ्यपुस्तक वितरण, प्रशासनिक प्रक्रिया तथा दर्ता अवस्थाको विस्तृत अध्ययन गरेको जनाएको छ ।

अनुगमन टोलीमा समितिका सदस्यहरू दिपक कुमार ठाकुर, विमलेश मिश्र, सन्जिव ठाकुर तथा वडा नं. १३ का अध्यक्ष जित बहादुर राउत लगायतको सहभागिता रहेको थियो । टोलीले विद्यालय प्रशासनसँग आवश्यक कागजात माग गर्नुका साथै विद्यार्थी र अभिभावकसँग समेत अन्तरक्रिया गरेको थियो ।

अनुगमनका क्रममा विशेषगरी विद्यालयहरूले तोकिएको मापदण्डअनुसार शुल्क लिइरहेका छन् वा छैनन्, अनधिकृत रूपमा अतिरिक्त शुल्क असुली भइरहेको छ कि छैन, तथा पाठ्यपुस्तकहरू निर्धारित मापदण्डअनुसार उपलब्ध गराइएको छ कि छैन भन्ने विषयमा केन्द्रित भएर जाँचबुझ गरिएको बताइएको छ ।

अनुगमन समितिका सदस्य दिपक कुमार ठाकुरले नियमविपरीत गतिविधि भेटिए कडा कारबाही गरिने स्पष्ट पारे । उनका अनुसार पहिलो चरणमा विद्यालयहरूलाई सुधारका लागि निर्देशन दिइनेछ भने अटेर गरेमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

“यदि कुनै विद्यालयले निरन्तर नियम उल्लंघन गरेको पाइएमा त्यस्ता विद्यालय बन्द गर्नेसम्मको निर्णय लिन बाध्य हुन सक्छौं,” उनले चेतावनी दिए ।

उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरूले मनपरी शुल्क लिने, अभिभावकलाई अनावश्यक आर्थिक भार थप्ने तथा शैक्षिक मापदण्ड बेवास्ता गर्ने गुनासो बढ्दै गएको पृष्ठभूमिमा यो अभियान अघि बढाइएको हो ।

अनुगमन अभियान एकदिने नभई निरन्तर चल्ने र आगामी दिनहरूमा जनकपुरधामका सबै वडामा रहेका निजी विद्यालयहरूलाई क्रमशः अनुगमनको दायरामा ल्याइने उपमहानगरपालिकाले जनाएको छ । साथै, अनुगमनका निष्कर्ष सार्वजनिक गरिने र आवश्यक सुधारका लागि समयसीमा तोकिने योजना पनि रहेको छ ।