महोत्तरी,१६ वैशाख ।
धनुषाको हरदिनाथस्थित राष्ट्रिय धान अनुसन्धान कार्यक्रम ( एनआरआरपी ) र कोरिया अन्तर्राष्ट्रिय धान अनुसन्धान ( कोपिया ) नेपाल सेन्टरबीच दुई दिने विस्तृत अन्तरक्रिया, प्रस्तुतीकरण तथा फिल्ड अवलोकन कार्यक्रम सम्पन्न भएको छ।
पहिलो दिन भएको अन्तरक्रिया बैठकमा एनआरआरपी का वैज्ञानिक तथा प्राविधिक अधिकृतहरू तथा प्इएक्ष्ब् नेपाल सेन्टरका निर्देशक डा. सोंग यङ जु, डा. सुरेन्द्रलाल श्रेष्ठ र धनबहादुर लियमको उपस्थिति रहेको थियो। बैठकमा एनआरआरपी का संयोजक डा. मथुरा यादवले कोपिया परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो।
प्रतिवेदनमा आधारभूत सर्वेक्षण, किसान तालिम, बीउ किट वितरण, ठूलो प्लट प्रदर्शन तथा पिभिएस परीक्षणलगायतका कार्यक्रमहरू समेटिएका थिए। साथै, परियोजनाको पहिलो चरणको लक्ष्यअनुसार धान उत्पादन वृद्धि गर्ने उद्देश्यबारे पनि छलफल गरिएको थियो। सुधारिएको प्रविधि, सुदृढ बीउ प्रणाली र नयाँ प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने उपायहरूमा जोड दिइयो।
यसैक्रममा कोपिया निर्देशकले नेपालमा बीउ प्रणाली सञ्चालनबारे चासो व्यक्त गरेपछि डा. यादवले विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। छलफलमा बीउको गुणस्तर, प्रणाली सुदृढीकरण तथा वसन्ते धान खेतीको सम्भावना र चुनौतीबारे पनि विचारविमर्श गरिएको थियो।
दोस्रो दिन टोलीले जनकपुर–धनुषाधाम क्षेत्रमा किसान फिल्ड परीक्षणको अवलोकन गरेको थियो। किसान दिलीपकुमार यादवसँग भएको छलफलमा वसन्ते धान खेतीका चुनौती, विशेषगरी सिंचाइ समस्या प्रमुख रूपमा उठाइएको थियो। लगातार विद्युत् कटौती र भूमिगत पानीको सतह घट्दै गएको कारण सिंचाइमा समस्या देखिएको किसानले जानकारी दिए।
फिल्ड अवलोकनका क्रममा असमान जमिन र असन्तुलित सिंचाइका कारण केही भागमा झारको प्रकोप देखिएको पाइयो। राम्रो सिंचाइ भएका भागमा झार न्यून रहेको उल्लेख गरियो।
कोपिया निर्देशक डा. सोंग यङ जुले किसानसँग अनुभव आदान–प्रदान गर्दै २८ वर्ष लामो धान खेती अनुभवबारे जानकारी लिनुभयो। किसानले वसन्ते धान खेती दोस्रो वर्ष मात्र गरिरहेको बताएका थिए।
टोलीले धानको गबारो कीराको प्रारम्भिक प्रकोप, रोपाइँ विधि, बिरुवाको उमेर, रोपाइँ घनत्व तथा हाइब्रिड र स्थानीय जातबीचको तुलना विषयमा पनि छलफल गर्यो। साथै चैते–५ र हर्दिनाथ–१ जातका प्रदर्शन प्लटहरूको अवलोकन गरिएको थियो, जसमा खेतीको अवस्था सन्तोषजनक देखिएको बताइयो।
हर्दिनाथ–१ जातको ३ बिघा क्षेत्रफलमा गरिएको प्रदर्शनमा राम्रो उत्पादन क्षमता र रोग–कीरा न्यून देखिएको किसानले जानकारी दिएका थिए। यसले सो क्षेत्रका लागि उपयुक्त जातको रूपमा सम्भावना देखाएको छ।
टोलीले सडकछेउमा गरिएको एख्क् परीक्षण स्थलले अन्य किसानलाई अवलोकन र सिकाइमा सहजता दिएको भन्दै यसको प्रशंसा समेत गरेको थियो।
समग्रमा, दुई दिने कार्यक्रमले एनआरआरपी, कोपिया र स्थानीय किसानबीचको सहकार्यलाई थप मजबुत बनाउँदै धान उत्पादन वृद्धि, बीउ प्रणाली सुधार र वसन्ते धान खेती प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ।







