काठमाडौँ, १६ वैशाख ।
काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई होल्डिङ सेन्टरमा राखिएको विषयमा मानवोचित व्यवहार सुनिश्चित गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ।
इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा होल्डिङ सेन्टरमा गरिएको अनुगमनका क्रममा बसोबास, सरसफाइ, स्वास्थ्य सेवा, सफा खानेपानी तथा पर्याप्त खानाको अभाव देखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा बलपूर्वक विस्थापनका कारण प्रभावित समुदायको आवास अधिकार, रोजगारी, जीविकोपार्जन, बालबालिकाको शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचमा गम्भीर असर परेको जनाइएको छ। घर तथा आश्रय गुमाउनु केवल भौतिक क्षति मात्र नभई सामाजिक सम्बन्ध, सुरक्षा भावना र मानवीय गरिमामा समेत गहिरो चोट पुगेको इन्सेकको भनाइ छ।
यसैगरी सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, कानुनी आधार र संस्थागत संयन्त्र विकास गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिँदै उनीहरूको अधिकार र सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ।







