काठमाडौँ, १६ वैशाख ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सरकारले हाल जारी गरेका अध्यादेश फिर्ता लिनु नै बुद्धिमानी हुने बताएका छन्। आह्वान भइसकेको संघीय संसदको दुवै सदनको बैठक स्थगित गरेर अध्यादेश ल्याउनु स्वाभाविक नभएको उनको भनाइ छ।
सरकारले संवैधानिक परिषद तथा सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि खड्काले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले संसद नबसेको विशेष अवस्थामा अत्यावश्यक विषयमा अध्यादेश ल्याउन सकिने भए पनि यसपटकको कदम अस्वाभाविक भएको बताएका छन्।
उनले लेखेका छन्, “सरकारले संसद नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशहितका विषयमा कहिलेकाहीँ अध्यादेश ल्याउनु स्वाभाविक मानिए पनि यसपटक सर्वथा फरक अवस्था देखियो। बोलाइएको संसद बैठक नै नबसाई स्थगित गरेर अध्यादेश ल्याउनु कुनै पनि हिसाबले उचित भन्न मिल्दैन।”
खड्काले सरकारले अध्यादेश फिर्ता लिएर तत्काल संसद बैठक बोलाउन र सोही विषयलाई फास्ट ट्र्याकमार्फत विधेयकका रूपमा संसदबाट पारित गराउन सुझाव दिएका छन्। उनका अनुसार यसो गर्नु नै लोकतान्त्रिक अभ्यासअनुकूल र दीर्घकालीन रूपमा उचित हुनेछ।
उनले थपेका छन्, “अध्यादेशका विगतका गलत नजिरलाई आधार बनाएर अहिलेको करिब दुई तिहाइको सरकारले बाटो तय गर्नु अहंकारी कदम हुनेछ। यसले न सरकारको, न देश र जनताको, न त लोकतान्त्रिक मूल्य–मान्यताको दीर्घकालीन हितमा काम गर्छ।”
खड्काले सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।







