काठमाडौँ, १६ वैशाख ।

चुनावअघि नै टिकट दिने प्रतिबद्धता व्यक्त नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई स्पष्ट निर्देशन दिएको छ। पार्टी संसदीय दलको बुधबार बसेको बैठकमा सभापति रवि लामिछानेले यस्तो निर्देशन दिनुभएको हो।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन र पूर्वतयारीलाई सुदृढ गर्न ‘क्यान्डिडेट क्लब’को अभ्यास वैशाख २० गतेदेखि सुरु गर्ने तयारी गरेको छ। यही सन्दर्भमा कसैले पनि कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै किसिमको प्रतिबद्धता नदिन निर्देशन जारी गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।

उनका अनुसार, “आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणका लागि क्यान्डिडेट क्लब सञ्चालन हुँदैछ। त्यसैले कसैले पनि टिकटको विषयमा अग्रिम प्रतिबद्धता जनाउनु हुँदैन भन्ने स्पष्ट निर्देशन दिइएको छ।”

पार्टीले यस्तो अभ्यासलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै यदि कतै टिकट दिने वा दिलाउने आश्वासन बाँडिएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाहीको भागिदार बनाइने चेतावनीसमेत दिएको छ।

यसैगरी, रास्वपाले आफ्ना सबै सांसदहरूका लेटरहेड, परिचयपत्र (कार्ड) लगायत आधिकारिक कागजातमा एकरूपता कायम गर्न पनि निर्देशन दिएको छ। कुनै पनि व्यक्तिगत कागजातमा ‘माननीय’ जस्ता सम्बोधन प्रयोग नगर्न पनि पार्टीले स्पष्ट पारेको छ।

पार्टीभित्र अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै सांसदहरूलाई मेन्टर तथा सल्लाहकारहरूसँग सहकार्य गरी आवश्यक ज्ञान, अनुभव र सुझाव लिन प्रोत्साहित गरिएको प्रवक्ता झाले बताउनुभयो।