म्याग्दी, १६ वैशाख ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद डा. महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका पुनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो।

उहाँले सार्वजनिक गर्नुभएको विवरणअनुसार श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरिएको छ। उक्त सुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको पुनले स्पष्ट पार्नुभएको छ।

त्यसैगरी, उहाँको नाममा नेपाल बैँक लिमिटेडमा चार लाख रुपियाँ नगद रहेको र राष्ट्रिय वाणिज्य बैँकमा २५ लाख रुपियाँ रहेको विवरणमा उल्लेख छ। उक्त रकम चुनावी अभियानका क्रममा सहयोगस्वरूप सङ्कलन भएको पुनले जानकारी दिनुभएको छ।

उक्त रकम बेनीमा सम्पर्क कार्यालय स्थापना गरी जिल्लावासीलाई सरकारी सेवामा सहजीकरण गर्न खर्च गर्ने योजना आफू निर्वाचित भएलगत्तै सार्वजनिक गरेको उहाँले स्मरण गर्नुभएको छ। सोहीअनुसार उहाँले हाल बेनीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइसक्नुभएको छ।

सम्पत्ति विवरणमा कास्की जिल्लामा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना चार पैसा जग्गा रहेको पनि उल्लेख गरिएको छ।

सम्पत्ति सार्वजनिक गर्दै पुनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो विवरण मैले शिक्षामन्त्री हुँदा पनि बुझाएको थिएँ। उतिबेलाको सरकारले सार्वजनिक गरिदिएन। त्यसैले सङ्घीय संसद सचिवालयले पनि सार्वजनिक गर्दैन कि भन्ने शङ्का लागेर यो विवरण सचिवालयमा बुझाउनुभन्दा पहिला नै सार्वजनिक गरेको छु।”

उहाँले थप लेख्नुभएको छ, “मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस्। खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपारेको छ भन्ने विद्वानहरू र रिस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र आवश्यक परे छानबिन गर्नु होला।”

डा. पुनले आफ्नो सम्पत्तिको पारदर्शिता सुनिश्चित गर्न छानबिन गर्नसमेत सम्बन्धित निकाय र सरोकारवालालाई आग्रह गर्नुभएको छ।