काठमाडौँ, १६ वैशाख ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि मन्त्रालय तथा मातहतका निकायबाट एक महिनाभित्र भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत सुधार, सेवा प्रवाहमा सहजता र प्रविधि विस्तारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यस क्रममा नयाँ निवेदनका आधारमा यातायात व्यवस्था विभागबाट प्राप्त तथ्याङ्क २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। सम्झौताअनुसार हालसम्म १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ भने थप १७ लाख थान पुराना लाइसेन्स असार मसान्तसम्म छपाइ गर्ने गरी सम्झौता भएको छ।

त्यस्तै, ३० लाख थान हुलाक टिकट छपाइ गरी हुलाक सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।