काठमाडौं, १६ वैशाख ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको तयारी दुवै देशले तीव्र बनाएका छन्। औपचारिक निमन्त्रणाका लागि भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने कार्यक्रम तय भएको छ।
नेपाल भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री बालेनलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। यद्यपि यसअघि नै मोदीले बधाई सन्देशसँगै भ्रमणको निम्तो दिइसकेका थिए, जसलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको छ।
मिस्रीको दुईदिने नेपाल बसाइका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य मन्त्रीहरूसँग पनि भेटवार्ता हुने कार्यक्रम छ। भ्रमणका क्रममा नेपाल–भारतबीच भएका पूर्व सहमतिहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिनेछ।
यसैबीच, प्रधानमन्त्री बालेनको भ्रमणसँगै सीमा विवादको विषय पुनः चर्चामा आएको छ। विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपाल–भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ। भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सुरु गर्ने सहमतिले नेपालमा कूटनीतिक चासो थप बढाएको छ।







