काठमाडौं, १६ वैशाख ।
२०६१ सालदेखि काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा आपराधिक गतिविधिमा संलग्न रहँदै आएका सन्तोष रानाभाट पुनः पक्राउ परेका छन्।
तनहुँको ऋषिङ गाउँपालिका घर भएका ३९ वर्षीय रानाभाटलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो। काठमाडौंको कालोपुलस्थित एक घरमा भएको लाखौँ रुपैयाँ बराबरको चोरी घटनामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार रानाभाटको साथबाट चोरीका गहना, खुकुरी र फलामको रडसमेत बरामद गरिएको छ। उनी लामो समयदेखि चोरी तथा अभद्र व्यवहारका घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।
रानाभाट यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा २२ पटक, चोरीसम्बन्धी मुद्दामा १३ पटक, हातहतियार तथा खरखजना र लागुऔषधसम्बन्धी मुद्दामा १–१ पटक पक्राउ परिसकेका छन्। पक्राउ परेर छुटेपछि पुनः अपराधमै संलग्न हुने प्रवृत्ति देखिएकाले उनलाई ‘सिरियल अफेन्डर’का रूपमा प्रहरीले लिएको छ।
रानाभाटको आपराधिक पृष्ठभूमि (संक्षेपमा)ः
२०६१ सालदेखि नै काठमाडौं प्रहरी परिसरमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता हुन थालेको
त्यसपछि लगातार अभद्र व्यवहार र चोरीका मुद्दा दोहोरिँदै आएका
२०६३ सालमा हातहतियार तथा खरखजना मुद्दासमेत दर्ता
२०६९ सालमा पर्सामा लागुऔषध मुद्दामा पक्राउ
पछिल्ला वर्षहरूमा ललितपुर, कालिमाटी, स्वयम्भू, लैनचौर लगायतका क्षेत्रमा चोरी तथा अभद्र व्यवहारका घटनामा संलग्नता
प्रहरीका अनुसार २०८० सालसम्म आइपुग्दा उनीमाथि ३७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भइसकेका छन्। अहिलेको घटनामा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







