काठमाडौं, १६ वैशाख ।

सरकारले संसद् स्थगित राख्दै अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा तथा संवैधानिक प्रक्रियाविपरीत रहेको बताएका छन्। उनले यसलाई केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायिकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमणको रूपमा व्याख्या गरेका छन्।

कांग्रेसले यस्तो प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाउने र संसद्प्रतिको सरकारको अविश्वास प्रकट गर्ने आरोप लगाएको छ। साथै, सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोजिनु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको पनि पार्टीको ठहर छ।

उल्लेखनीय छ, सरकारले सोमबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।