काठमाडौं,१३ वैशाख ।

इरानमा अमेरिकी र इजरायली आक्रमणभन्दा पहिला पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै रिहा हुन सकेका छैनन् । परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्र मन्त्रालयले गत २ वैशाखमा जारी गरेको सूचनामा झा रिहा भएको उल्लेख थियो । तर, कानुनी प्रक्रिया बाँकी भएका कारण उनीसहित तीनजना रिहा हुन बाँकी छ ।  ‘इरानमा जेलमा रहनुभएका अमृत झाको केही कानुनी प्रक्रिया बाँकी रहेको खबर आएको छ, दोहास्थित नेपाली दूतावास यो मुद्दासँग सम्बन्धित पक्षहरूसँग सम्पर्कमा छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने । झालाई तेहरानस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासमार्फत मुद्दा–मामिला गर्न वकिलको व्यवस्था भएको थियो । झाबाहेक इरानमा हाल १० जना नेपाली नागरिक छन् । तीमध्ये दुईजना नेपाली नागरिक स्वदेश फिर्तीको पर्खाइमा छन् । ‘बाँकी आठजना नेपाली नागरिकले स्वदेश फर्किने इच्छा देखाइरहनुभएको छैन,’ क्षेत्रीले भने, ‘इरानमा रहेका सबै नेपाली नागरिकसँग कतारको दोहास्थित नेपाली दूतावास सम्पर्कमा छ ।’