जनकपुरधाम । जनकपुरधामस्थित गुठी संस्थान अन्तर्गतका जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अतिक्रमण हटाउनेसहित ८ वटा महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले ती निर्णयहरू अनुमोदन गरेको हो।

बैठकले गुठी जग्गामा भइरहेको अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्दै स्थानीय तहसँग सहकार्य गरी फुटपाथ तथा सार्वजनिक स्थलमा निर्माण गरिएका अवैध संरचनाहरू हटाउने निर्णय गरेको छ। त्यसैगरी, मधेस भवनको सुरक्षा र सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने तथा कर्मचारी आवास क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई तत्काल हटाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन सम्बन्धित सुरक्षा निकायबीच समन्वय बढाउने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ। धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जनकपुरधामको परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री तथा सेवनमा पूर्ण रोक लगाउने, सार्वजनिक स्थलमा डिजे बाजा बजाउन निषेध गर्ने तथा ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ गर्ने निर्णय समेत गरिएको छ।

बैठकमा सहभागी सरोकारवालाहरूले यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। विगतमा जस्तै निर्णयहरू कार्यान्वयनमा ढिलाइ हुन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ।

उक्त बैठकमा सुरक्षा निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अतिक्रमण नियन्त्रण, सीमा सुरक्षा सुदृढीकरण, लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सार्वजनिक अनुशासन कायम गर्न प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै, संघीय संसद, प्रदेश सरकार, स्थानीय तह, गुठी संस्थान, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वय र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। निर्णयहरू सफल बनाउन जनस्तरबाट पनि सहयोग र दबाब आवश्यक रहेकोमा जोड दिइएको छ।