महोत्तरी,१० वैशाख ।
महोत्तरी सदरमुकाम जलेश्वर स्थित भुमि सुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी सहित तिनजनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवाना गरेको छ । उनीहरुलाई कम्प्युटर प्रणाली मार्फत स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा विशेषले दोषी ठहर गरेको हो ।
बुधबार विशेष अदालतले ०८० साउनमा साविक इटरहर्वाकट्टीको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटर प्रणालीमार्फत स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
अदालतले राजिव कुमार ठाकुर सहित मालपोत कार्यालय जलेश्वरका मोठ फाँटका नायव सुव्वा परमानन्द साह र कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंहलाई गैरकानुनी रुपमा दुषित लिखत तयार गरि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै मुद्दा दर्ता भएकोमा नारायण प्रसाद पौडेल,डिल्लीरत्न श्रेष्ठ र विदुर कोईरालाको इजलासले जरिवाना र सजाय गरेका हुन ।
नासु साह र कम्प्युटर अपरेटर सिंहलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम जनही तिन महिना कैद,दश हजार जरिवाना तथा दफा ११ बमोजिम तिन महिना कैद र तिस हजार जरिवाना सजाय दिएको हो भने राजिव कुमार ठाकुरलाई समेत सोहि सजाय दिइएको हो ।
उनीहरुबाट जनही सोरह सय क्षतिपुर्ति समेत तिराई पिडित राहत कोषमा भराउन अदालतले भनेको छ ।







