कञ्चनरुप, ३ वैशाख ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–८ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको एक तलाउमा घोघी (घोंघा) टिप्न गएकी एक महिला डुबेर बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा कञ्चनरुप नगरपालिका–५ निवासी सूर्तीदेवी सरदार रहेको स्थानीयले जनाएका छन्।
स्थानीय बासिन्दा बसन्त सरदारका अनुसार उक्त गाउँबाट करिब १० जना महिलाहरू घोघी टिप्न आरक्षभित्र गएका थिए। सोही क्रममा पानीमा डुबेर सूर्तीदेवी बेपत्ता भएकी हुन्। यसैबीच, सुकमैनी देवी सरदारलाई भने बेहोस अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि पठाएका छन्।
घटना आज दिउँसो करिब १ः३० बजेतिर भएको हो। घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका गोताखोर टोलीले बेपत्ता महिलाको खोजी कार्यलाई तीव्रता दिएका छन्।
आरक्षभित्र रहेको तलाउमा घोघी टिप्न जाँदा जोखिम हुने भए पनि स्थानीयहरू जीविकोपार्जनका लागि यस्तो काममा निर्भर रहँदै आएका छन्। यस घटनाले पुनः त्यस्ता जोखिमपूर्ण गतिविधिमा सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायब निरीक्षक प्रमानन्द ठाकुरको कमाण्डमा ४ जनाको टोली खटिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकीको नेतृत्वमा ७ जनाको टोली परिचालन गरिएको छ।
साथै, कोशी टप्पु क्षेत्रबाट नेपाल आर्मीका २ जनाको टोली समेत घटनास्थलमा खटिई बेपत्ता महिलाको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।
घटनास्थल प्रहरी चौकी फत्तेपुरबाट करिब ११ किलोमिटर दक्षिण–पूर्वमा पर्दछ। हालसम्म महिलाको अवस्था अज्ञात रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







