काठमाडौँ, ३ वैशाख ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चुनावी समीक्षा समेत नगरेको जनता समाजवादी पार्टी नेपाल यतिबेला पार्टी एकता प्रक्रियालाई पूर्णता दिन जुटेको छ ।
निर्वाचनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच एकता भएको थियो । निर्वाचन प्रयोजनका लागि हतार–हतार एकता प्रक्रिया सुरु गरेको जसपा नेपालले अहिले बल्ल त्यसलाई पूर्णता दिन लागेको हो ।
जसपा नेपालका नेता जितेन्द्र सोनलले हतार–हतारमा पार्टी एकतालाई अगाडि बढाएर चुनावमा भाग लिएकाले अहिले आएर त्यसलाई पूर्णता दिन लागेको बताए । निर्वाचन आयोगले अपुग दस्तावेज मागेको र ती दस्तावेज तयार गरेर आयोगमा बुझाउने काम भइरहेको उनको भनाइ छ । त्यसका साथै पार्टी समायोजनको कामलाई पनि अगाडि बढाइएको सोनलले बताए ।
पार्टी एकतापछि गत पुस २७ गते ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनेको थियो । सो समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्ष, बाँकी सबैलाई सदस्यको रूपमा राखिएको छ । दुवै पार्टीको केन्द्रीय समिति तथा भ्रातृ संगठनलगायत अन्य समितिलाई यथावत राखिएको छ ।
दुवै पार्टीको केन्द्रीय समिति तथा भ्रातृ संगठनहरू केन्द्रीय समन्वय समितिको निर्देशन अनुसार चल्ने सहमति दुई दलको बिचमा भएको थियो । अब दुवै दलबिच समायोजनका काम अगाडि बढ्ने बताइएको छ ।
दुई दलबिच एकता भए पनि चुनावमा पार्टी नराम्ररी पराजित भयो । प्रतिनिधि सभामा जसपा नेपालले एक सिट पनि जित्न सकेन । पार्टी पराजित हुनको कारणबारे अहिलेसम्म समीक्षा भएको छैन । चुनावी समीक्षाका लागि चैत १५ गते केन्द्रीय समन्वय समितिको बैठक बोलाइए पनि सोही दिन अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । अर्को बैठक कहिले बस्ने भन्ने अझै निश्चित नभएको पार्टी स्रोतले जनाएको छ ।







