महोत्तरी,२ वैशाख ।
महोत्तरीको बर्दिवासमा जनजाति महोत्सव मनाईने भइएको छ । नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद महोत्तरीको आयोजनामा पाँचौ आदिवासी जनजाति महोत्सव हुन लागेको हो । वैशाख ११ गते देखि महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।
महोत्सवले परम्परा, पहिचान र मनोरञ्जनलाई एउटै थलोमा समेट्ने आयोजकले जनाएका हुन ।
वैशाख २५ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको महोत्तरी अध्यक्ष धननारायण श्रेष्ठले बताएका छन ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकोमा यही विविधता हाम्रो शक्ति भएको बताउदै अध्यक्ष श्रेष्ठले आधुनिकताको तीव्र गतिसँगै कतिपय मौलिक संस्कृतिहरू ओझेलमा पर्ने खतरा बढ्दो भएकोले मौलिक संस्कृति संरक्षणका लागि समेत महोत्सव महत्वपुर्ण सिद्ध हुने जनाए ।
महोत्सवले जनजातीय समुदायका मौलिक कला, संस्कृति, भाषा र जीवनशैलीलाई संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा मगर, तामाङ, थारु, दनुबार, भुजेल, राई, नेवार, मण्डल, माझी र गुरुङ लगायतका समुदायहरूको भेषभूषा, खानपान, नृत्य, गीत र हस्तकलाको प्रदर्शन गरिने अध्यक्ष श्रेष्ठले बताए । उनले यो केवल प्रदर्शनी होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र परम्पराको जीवन्त प्रस्तुति हुने बताए ।
महोत्सव स्थलमा १५० स्टल राखिने भएकोमा सो मध्ये धेरैजसो स्टल स्थानीय कृषि तथा औद्योगिक उत्पादनका लागि निःशुल्क उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले थपे । महोत्सवमा स्थानिय व्यापारीलाई २० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ ।
महोत्सवमा युवापुस्तालाई लक्षित गर्दै लण्डन ब्रिज, एफिल टावर, मुनिभर्सल सेटअप तथा बाल उद्यानजस्ता संरचनाहरू निर्माण भैरहेको छ ।







