मणिलाल विश्वकर्मा
लहान, १ वैशाख ।
सिराहाको लहान नगरपालिका १२ र २२ स्थित सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्नेको विशेष मेला लागेको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख (मंगलबार) बिहानैदेखि फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारम प्रजातिको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न हजारौँको भिड लागेको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लाबाट आएका दर्शनार्थीहरूको फूल हेर्ने मेलामा भिड लागेको हो ।
फूलबारीमा सुनाखरी फूल हेर्न र मालिनीको गहवर, सहलेशका भाइ बुधेश्वरको गहवरमा पूजाअर्चना गर्न छिमेकी मुलुक भारत बिहारको सहरसा, सुपौल, पूर्णिया, दरभंगा, पटनासम्मका दर्शनार्थीहरूसमेत आएका छन् । आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेश र प्रेमिका मालिनीबिचको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न सलहेश फूलबारीमा हरेक नयाँ वर्षको पहिलो दिन स्वदेश तथा छिमेकी मुलुक भारतबाट आउने हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्दछ
सलहेश र मालिनीको प्रेम प्रतीक ‘सुनाखरी फूल’
सलेहश गाथामा उल्लेख गरिएअनुसार फूलबारीधाम जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका– ७ मा पर्ने महिसोथामा जन्मिएका तेह्रौँ शताब्दीका लोकनायक सलहेशको प्रणयस्थल थियो ।
किंवदन्ती अनुसार महिसोथाबाट हात्ती चढेर सलहेश लहान गोविन्दपुरमा पर्ने माणिकदहमा स्नान गरी फूलबारीधाममा आएर फूल टिपी महिसोथामा पुगेर पूजाअर्चना गर्थे । लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबिच प्रगाढ प्रेमसम्बन्ध रहेको भए पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालाको रूपमा मालिनी हरेक वर्ष १ वैशाखमा फुल्ने मान्यता छ ।
तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेशलाई पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगव्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरूसमेत भेटिने भएकाले नयाँ वर्षमा लाग्ने मेला लाग्नु एक दिन अगावैदेखि हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्छन् ।
लहानदेखि करिब चार किलोमिटर पश्चिम दक्षिणमा रहेको फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन मात्र फूल फुल्ने विश्वास गरिने भए पनि करिब एक हप्ता अघिदेखि नै फूल फुल्ने गर्दछ । फूलबारीमा मेला भर्न हजारौँको संख्यामा श्रद्धालुहरू आउने भएकाले भिड व्यवस्थापन र सुरक्षाका लागि स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सुरक्षाको प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।







