अस्पतालले स्वागत गर्दै,युवा धर्ना दिई विरोध जनाउदै
रञ्जन कुमार भण्डारी
महोत्तरी,२७ चैत्र ।
प्रादेशिक अस्पताल जलेश्वर सधै विवादमै रह्ने अवस्था अझै अन्त्य हुन सकेको छैन । अस्पताल व्यवस्थापन तथा संचालनको लागि अस्पतालमा अध्यक्ष सहितको समिति हुने व्यवस्था बमोजिम मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट अस्पतालको अध्यक्षमा रोहित प्रसाद ठाकुर मनोनयन भएपछि विवाद चर्किएको छ । स्थानिय युवाहरुले उनको पत्र अस्पताल प्रसासनमा दर्ता हुन दिएका छैनन । तथापी अध्यक्षको रुपमा अस्पताल प्रवेश गरेका ठाकुरलाई अस्पतालले फुलमाला लगाएर स्वागत गरेका छन ।
यता युवाहरुले दलगत नियुक्ती भएको र स्थानिय तथा दक्षलाई अध्यक्ष बनाउन आफुहरुले ध्यानाकर्षण पत्र मार्फत मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायको ध्यानाकर्षण गराएकोमा उनले दलिय आधारमा ठाकुरलाई अध्यक्ष बनाएको भन्दै धर्ना र ध्यानाकर्षणलाई निरन्तरता दिएका छन । युवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र स्वास्थ्य मन्त्री जंगीलाल राय सहितका विभिन्न स्थानमा तत्काल उनको नियुक्ती खारेज गर्न मांग गरेका छन ।
दलिय नियुक्ती खारेज नभए चर्को आन्दोलन गर्ने युवा समुहले जनाएका छन ।
प्रादेशिक अस्पताल जलेश्वरमा पटक पटक अध्यक्ष नियुक्ती र अध्यक्षको काम वारे आवाज उठदै आएको छ भने अस्पताल सुधारका लागि प्रदेश सरकारबाट समेत कुनै कार्य नभएको आरोप छ ।







