रञ्जन कुमार भण्डारी
महोत्तरी,२६ चैत्र ।
मंगलवार बिहान एसइइ परीक्षा समाप्त भएपछि महोत्तरीको एकडारा गाउपालिका ५ गेना बथनाहा र जलेश्वर नगरपालिका ७ बखरीको सिमा स्थित जलेश्वर बर्दिवास सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर आगलागी भई तिनजनाको मृत्यु भएको तथा तिन जना गम्भिर घाईते भएको घटनामा घाईते मध्ये एकलाई प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरमा राखिएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचार पछि तिनजनालाई जनकपुर पठाइएकोमा सोहि मध्येका एकडारा गाउपालिका ५ गेना बथनाहा निवासी राम बरण कापरका छोरा २० वर्षिय जयक कुमार कापरलाई भेन्टिलेटरमा राखिएको हो । टाउकोमा गम्भिर चोट रहेका कापर प्रादेशिक अस्पताल जनकपुरमा अचेत अवस्थामा भर्ना भएकामा हालसम्म उनको चेत नखुलेको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका न्युरो सर्जन डा. प्रद्युम्न कुमार यादवले आफुसंग भएको दक्षता र प्रादेशिक अस्पताल जनकपुरसंग भएको साधन स्रोत सवै लगाएर जिवन रक्षाको प्रयास गरिरहेको बताए । उनले हाल भेन्टिलेटरबाट स्वास लिईरहेका कापरको चेत खुल्ने वारे यकिन भन्न नसकिने बताए । तर अस्पतालको पुर्ण जनशक्ति उनको स्वास्थ्य अवस्थामा सुधार ल्याउन लागिपरेको बताए ।
यता थप दुइ घाईते मध्ये जलेश्वर नगरपालिका ६ धवौली निवासी सुरेश दासको छोरा अन्दाजी वर्ष १९ का रोहित दासलाई मंगलवार नै प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचार गरि थप उपचारको लागि जनकपुर स्थित रामजानकी अस्पताल लगिएकोमा त्यहा बाट समेत जनकपुर स्थित नै स्वस्तिका हेल्थ केयर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनको बायाँ तिघ्रा फ्याक्चरमा अपरेशन गरि स्टिल लगाईने छ भने अनुहारमा समेत चार ठाउमा फ्याक्चर भएकोमा अनुहारमा समेत अपरेशन गरि स्टिल लगाइने अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर भएपनि सुधारोन्मुख रहेको बताइएको छ ।
त्यसतै वडा नं. ६ निवासी लखिन्द्र कापरको छोरा अन्दाजी वर्ष १९ का अभय कापरको समेत देव्रे तिघ्रा टुटेको र टाउकोमा थोरै ब्लड जमेको भेटिएकोमा उनलाई रामजानकी अस्पताल जनकपुरबाट रेफर गरि बुधवार बिहान काठमाठौं स्थित टिचिंग अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर बताइएपनि चिकित्सको कडा निगरानीमा राखिएको र शल्यकृया गर्नु पर्ने बताइएको छ ।
सभामुखको स्वास्थ्य अवस्था वारे चासो ः
यता मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले प्रादेशिक अस्पताल जनकपुरमा फोन गरि घाईतेहरुको उच्चतम उपचार गर्न चिकित्सकलाई आग्रह गरेका छन । उनले गम्भिर अवस्थामा भेन्टिलेटरमा राखिएका जय कुमार कापर सहित तिन जना घाईतेको स्वास्थ्य अवस्था बारे बुझेका हुन ।
सभामुख यादवले उक्त दर्दनाक घटनामा मृत्यु भएकाहरुका परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै घाइतेहरुको उपचारमा पुर्ण दक्षता प्रयोग गर्न आग्रह गरे ।
दुई मोटरसाईकलमा सवारहरु मध्ये चारजना जलेश्वर स्थित महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय जलेश्वर का छात्रहरु रहेकोमा सोहि मध्ये दुईजनाको मृत्यु भएको हो भने दुईजना घाईते भएका हुन । यता थप दुई जना उनीहरुसंगै मोटरसाईकलमा सवार थिए ।
उक्त घटनामा जलेश्वर नगरपालिका ६ साहुजीपट्टी निवासी राम दयाल दासको छोरा अन्दाजी वर्ष १९ को रवि दास,सोहि ठाउ निवासी सुरेन्द्र दास(सोलिन्द्र) को छोरा अन्दाजी वर्ष १९ का शुभाष दास र एकडारा गाउपालिका ३ अजमरपट्टी निवासी शत्रुध्न मण्डलको छोरा अन्दाजी वर्ष २२ का अभिषेक मण्डलको मृत्यु भएको थियो ।







